अखिल सिक्किम चालक कल्याण बोर्डमा अध्यक्षको नियुक्तिपछि विभागद्वारा उपाध्यक्षगण लगायत सदस्यहरू नियुक्त

गान्तोकः राज्य सरकारद्वारा अखिल सिक्किम चालक कल्याण बोर्डको अध्यक्ष नियुक्त गरेको एक दिन नबित्दै हिजो यातायात विभागले एउटा अधिसूचना जारी गरेर यसमा उपाध्यक्षगण, कोषाध्यक्ष अनि कार्यकारी सदस्यहरू नियुक्त गरेको छ। विभागद्वारा जारी अधिसूचना अनुसार, मुख्यालयका उपाध्यक्षद्वय अजय शर्मा अनि राजु ठटाल नियुक्त भएका छन् भने गान्तोक जिल्लाको निम्ति कमल तामाङ, नाम्ची जिल्लाको निम्ति गणेश मंगर, मंगन जिल्लाको निम्ति दावा लेप्चा, गेजिङ जिल्लाको निम्ति मायल छिरिङ लेप्चा, पाकिम जिल्लाको निम्ति सुरेश सुब्बा अनि सोरेङ जिल्लाको निम्ति केलु छेत्रीलाई उपाध्यक्षको पदमा नियुक्त गरेको छ। यसरी नै राज्यको यातायात विभागीय सचिव यस बोर्डका मेम्बर सेक्रेटेरी रहनेछन्। छुङछुङ भोटियालाई यस बोर्डको कोषाध्यक्ष नियुक्त गरिएको छ भने विभिन्न चालक संघका ९ जनालाई कार्यकारी सदस्यको रूपमा नियुक्त गरिएको छ।

जानकारी गराइन्छ, गत २४ जुलाईको दिन राज्यका अतिरिक्त मुख्य सचिवले एक अधिसूचना जारी गर्दै सोनाम ओङ्डुप भोटियालाई अखिल सिक्किम चालक कल्याण बोर्डका अध्यक्ष नियुक्त गरेका थिए। एसकेएम पार्टी राज्यको सत्तामा आएपछि चालकहरूको सम्मानमा प्रतिवर्ष २७ जुलाईको दिन पालन गरिने सारथी सम्मान दिवसअघि यस वर्ष राज्यका चालक-सारथीहरूको हितमा बोर्ड गठन गरिने मुख्यमन्त्रीले दिएको वचन एसकेएम सरकारको पक्षबाट पूरा गरिएको छ।

About Author

Advertisement