लम्पी रोगः ४२ प्रतिशत टीकाकरण पूरा भएको पशुपालन विभागको ठहर

lump_403

गान्तोकः सिक्किम सरकारको पशुपालन विभागले आगामी तीन महिना भित्रमा लम्पी रोगलाई नियन्त्रण गर्ने प्रतिवद्धताका साथ काम गरिरहेको जानकारी दिएको छ। विभागका सचिव डाक्टर पी सेन्थिल कुमार लगायत अन्य अधिकारीहरूले बुधवार पत्रकार सम्मेलन आयोजन गरेर राज्यमा लगभग ४२ प्रतिशत गाइबस्तुलाई लम्पी रोग रोकथामको टीकाकरण कार्य पूरा भएको र रोगी गाईबस्तुको उपचार प्रक्रियालाई पनि तीब्र गराइएको जानकारी दिएका छन्। राज्यमा अहिलेसम्म ६२१५४ वटा गाईबस्तुलाई टीकाकरण गर्ने काम पूरा भएको छ भने आगामी अगस्त महिनाको पहिलो हप्ताभित्र लम्पी रोकथामको प्रभावकारी भ्याक्सिन राज्यमा आउने जानकारी दिए। उनले आगामी तीन महिनाको अवधिभित्र ८० प्रतिशत टीकाकरण लक्ष्य हासिल गर्ने विभागका सचिवले जानकारी दिए। प्रभावशाली भ्याक्सिन र टीकाकरण सङ्ख्या वृद्धि अनि मौसम परिवर्तनसँगै लम्पी रोगको प्रभाव कम हुँदै जाने लक्ष्य राखेर विभागले काम गरिरहेको बताए।

उनले लम्पी एउटा सरुवा रोग भएका कारण यसबाट आफ्ना गाईबस्तुलाई जोगाउन किसानहरूले पनि धेरै सतर्कता अपनाउनुपर्ने आग्रह गरेका छन्। उनले जानकारी दिए अनुसार, अहिलेसम्म लम्पी रोगबाट सिक्किममा ११०० गाईबस्तुको मृत्यु भएको छ जसको क्षतिपूर्ति दिने प्रक्रिया विभागले अघि बढाएको छ। सिक्किम सरकारले लम्पीलाई स्थानीय स्तरमा आपदा घोषणा गरेर यसबाट मृत्यु भएका गाईबस्तुको क्षतिपूर्ति वितरणका लागि विभागले ठोष पहल अघि बढाउँदै एउटा छुट्टै फारम जारी गरेको छ। प्रभावित मानिसहरूले यो फारम भरेर सम्बन्धित पञ्चायत र स्थानीय भेटेनेरी अधिकारीको अनुमोदनमा विभागको सम्बन्धित जिल्ला कार्यालयमा बुझाउन आग्रह गरिएको छ। विभागले सबै लम्पी रोगका कारण गाईबस्तु गुमाएका सबै प्रभावित किसानहरूको सूची सरकारमा बुएपछि क्षतिपूर्ति राशि सरकारले अनुमोदन गर्ने र डाइरेक्ट बेनिफिट ट्रान्सफर अन्तर्गत क्षतिपूर्ति प्रभावित किसानलाई वितरण गर्ने सचिवले बताए।

जानकारी गराइन्छ, दिसम्बर २०२२ देखि सिक्किममा लम्पी रोग शुरु भएको थियो जसले गाई, भैसी र चौँरीलाई प्रभावित बनाएका छन्। राज्यमा अहिलेसम्म ९४९४ गाईबस्तुलाई लम्पी रोग लागेको छ जसमध्ये ५२४३ निको भएका छन्। अहिले राज्यमा लम्पी रोगबाट प्रभावित पशु सङ्ख्या ३१८६ रहेको छ भने रोग राज्यमा रहेका पशु सङ्ख्याको आधारमा लम्पी रोगबाट हुने मृत्यु दर लगभग एक प्रतिशत मात्र रहेको विभागले बताएको छ। लम्पी रोगको प्रभावलाई कम गर्न विभागले निरन्तर प्रयास गरिरहेको र यो एउटा सरुवा रोग भएका कारण पशुपालक किसानहरूले गाईबस्तुको आहार र गोठको सर-सफाइमा विशेष ध्यान दिनुपर्ने सचिव डाक्टर पी सेन्थिल कुमारले बताए। लम्पी रोग लागेका गाईबस्तुको दुध खाँदा मानिसहरूलाई कुनै प्रभाव नहुने बताउँदै तथापि अन्य स्थानमा यो रोग नफैलियोस भन्ने विषयमा सचेत रहन दुग्ध सहकारी समितिमा लाने दुधमा भने सतर्कता अपनाउनुपर्ने उनले आग्रह गरेका छन्। सिक्किममा लम्पीको रोग छवटै जिल्लामा फैलिएको तर अतालिनुपर्ने स्थिति भने नरहेको उनले बताए। सचिव डा. कुमारले राज्यमा चौँरीमा पनि लम्पीको स्थिति देखिएको र टीकाकरण शुरु भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement