२६ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आयोजक एसएनबीएस-ले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा बुधवार भएको रोमाञ्चक म्याचमा सालुगढ़ा नेत्र बिन्दु संघले सिलगढ़ी सिटी फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा सिलगढ़ी सिटी एफसी-बाट विशाल रोय अनि आयोजक टीमबाट सोनम लेप्चाले पेनल्टीबाट गोल गरे। विजेता टीमका गोलकीपर योगेश गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। बिहीवार खेलिने म्याचमा आयोजक लिटल किकर्स एकाडमी (नेपाल) र मनजीत इलेभेन (देविडांगा, दक्षिण पलास)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ।

यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।