गान्तोकः सिक्किम स्टेट सिभिल सर्विस अफिसर्स एसोसिएशनको आज राजधानीस्थित चिन्तन भवनमा एक कार्यक्रम सम्पन्न भयो। आजको यो कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने मन्त्री केएन लेप्चा विशिष्ट अतिथिमा रहेका थिए।
कार्यक्रममा उपस्थिति दिँदै मुख्यमन्त्री तामाङले विभिन्न पदबाट अवकाशप्राप्त अधिकारीहरूलाई सम्मान जनाउँदै भविष्यको निम्ति शुभकामना दिए। यसका साथै एसोसिएशनले आईएएस अधिकारीहरुलाई मुख्यमन्त्रीको बाहुलीबाट सम्मान जनायो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारलाई सुचारु रूपमा चल्नको निम्ति सहयोग पुऱ्याउने सबै अधिकारीहरूलाई आभार व्यक्त गरे। अधिकारीहरुको समर्पण भावनाले आज सिक्किमले धेरै उन्नति गरिरहेको उनले बताए।
आज सम्मानित अवकाशप्राप्त अधिकारीहरूलाई पनि अब झन् सक्रिय भए समाजको निम्ति काम गर्ने उनले सुझाउ दिए। यतिका समयसम्म सिक्किम राज्यको निम्ति समर्पित भएर कार्य गर्ने अवकाशप्राप्त अधिकारीहरूलाई सरकारको पक्षबाट जुनै पनि सहयोगको आवश्यक्ता परे आफू सधैं तयार रहने पनि मुख्यमन्त्री तामाङले आश्वस्त गराए।
अवकाशप्राप्त भएपनि नथाक्ने सबैलाई हौसला दिँदै अब समाज निर्माणको काम गर्नको निम्ति सडक अझ खुल्ला रहेको बताए। अब कुनै पनि रोक टोक बिना नै समाज निर्माणको काममा अघि आउने पनि मुख्यमन्त्री तामाङले आह्वान गरे। वर्तमान सरकारले राज्यका अधिकारीहरुको निम्ति धेरै कार्य गरिरहेको पनि मुख्यमन्त्री तामाङले बताए। यसरी नै सरकारले भोकल फर लोकल नीति अन्तर्गत नै अधिकारीहरुको पदोन्नति गरिरहेको पनि जानकारी गराए।
सिक्किमलाई देशमा नै अझ समृद्धशाली बनाउनको निम्ति अब सबै अधिकारीहरुले टीम सिक्किम भएर कार्य गर्नुपर्ने मुख्यमन्त्री तामाङले सबैलाई आवहान गरे।
-हिस