८ मार्चमा सिक्किमे एकता उत्सव पालन गर्नेः ज्याक

IMG-20230301-WA0298.jpg

गान्तोक: जोइन्ट एक्शन काउन्सिल (ज्याक) ले आगामी ८ मार्चको दिन राजधानी गान्तोक लगायत राज्यका सबै स्थानमा सिक्किमे एकता उत्सव पालन गर्ने भएको छ। ज्याक-ले त्यस दिन सबै राज्यवासीलाई आ-आफ्नो जातीय तथा पारम्परिक वेशभूषा लगाएर यस उत्सवलाई आ-आफ्नो क्षेत्रमा पालन गर्ने अपील गरेको छ।

सङ्गठनका प्रवक्ता सोनाम शेर्पाले आज पत्रकारहरूसित कुराकानी गर्दै ज्याकले लगातार तीनपल्ट बैठक गरेर आगामी ८ मार्चको दिनलाई सिक्किमे एकता उत्सवको रुपमा पालन गर्ने निर्णय लिएको जानकारी गराए। उनले राजधानी गान्तोकवासीलाई त्यस दिन बिहान ८ बजीदेखि पारम्परिक पहिरनमा एमजी मार्गको अघिल्लो भाग तथा न्यू मार्केटमा भेला हुने अपील गरेका छन्। यसरी नै अन्य क्षेत्रहरूमा पनि सबै सिक्किमवासी आ-आफ्नो जातीय पहिरनमा बाहिर निस्केर सिक्किम र सिक्किमेको पक्षमा ऐक्यवद्धता जाहेर गर्ने अनुरोध गरेका छन्।

८ मार्चको दिननै यसरी सिक्किमे एकता उत्सव पालन गर्ने जोइन्ट एक्शन काउन्सिलको निर्णयले धेरैवटा प्रश्नलाई जन्माएको छ। उल्लेखनीय छ, ८ मार्चको दिन अन्य कतिपय पर्व तथा महत्वपूर्ण दिवस पनि रहेको छ जसमा होली सबैभन्दा ठूलो पर्व रहेको छ। यस बारेमा प्रश्न गर्दा प्रवक्ता सोनाम शेर्पाले सिक्किमे एकता पर्व पालन गर्नुको उद्देश्य कसैको पर्व तथा उत्सवमा बाधा पुऱ्याउनु नरहेको बरु जातीय तथा साम्प्रदायिक एकताको संदेश दिनु रहेको बताए। किन ८ मार्चको दिन नै चुनेको भन्ने प्रश्नको जवाफमा ८ तारिख सिक्किमको निम्ति भाग्यशाली रहेको उनको जवाफ रहेको थियो।

About Author

Advertisement