५२ जिल्लामा देखियो डेंगु, यो वर्ष झन् चुनौतीपूर्ण

Untitled-1-copy-109

काठमाडौंः गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन । जाडो मौसममा पनि डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरु बताउँछन् । संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन् । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ। लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अघिल्लो बर्ष नै लामखुट्टेले समुदायमा प्रशस्त अण्डा पारेका छन् । ‘प्रि मौसम सुरू हुने र गर्मी बढ्नासाथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्छन्’, डा. पुनले भने, ‘विगतका अनुभवले यस्तै देखाइरहेको छ । सरकारले अहिले नै सक्रिय नहुने हो भने प्रकोपको रूप लिन्छ ।’ जनवरी १ देखि अहिलेसम्मको तथ्यांक हेर्दा ५०१ जना डेंगु संक्रमित केस देखिइसकेको छन् । जाडो र त्यसपछिका साढे तीन महिनामा करिब पाँच सय मानिसमा डेंगु संक्रमण हुनुले अबका महिनामा संक्रमणको जोखिम बढ्ने आंकलन गरिएको छ ।

अघिल्ला बर्षको पुस यता तथ्यांक हेर्दा ७० जना हाराहारीमा मात्रै संक्रमित देखिएका थिए । जबकि, सो संख्या बढेर अहिले ५ सय नाघिसकेको छ ।‘पुस, माघ महिनामा कहिल्यै पनि केस शून्य भएन । अघिल्लो बर्षको यही समय तथ्यांकलाई हेर्दा यसबर्ष संक्रमित संख्या तीब्र गतिले बढेको देखिन्छ । यसकारणले पनि यसबर्ष चूनौतीपूर्ण रहेको देखिन्छ,’ महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. दाहालले भने ।संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित दार्चुला, म्याग्दी, लगायतका ५२ जिल्लाका ११२ पालिका छन् । डा. दाहालका अनुसार दार्चुलामा १७१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा भने ५० भन्दा कम केस छन् ।महाशाखाको तथ्यांक अनुसार सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखियो । तीमध्ये ८८ जनाको मृत्यु भयो । संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण सुरु भएको सन् २००४ यताकै धेरै हो । तर, समुदायस्तरमा फैलिएको संक्रमणको गणना गर्ने हो भने गत वर्ष झन्डै दुई लाख जनसंख्या संक्रमित भएको विज्ञहरूको आंकलन छ ।अघिल्लो बर्ष डेंगु महामारी नियन्त्रणमा सरकारी संयन्त्र पुरै असफल देखिएको थियो । काठमाडौं उपत्यकामा डेंगु संक्रमितको उपचारका लागि अस्पतालमा शय्या अभाव भयो । समयमै उपचार सेवा पाउन नसकेका कारण धेरैको मृत्यु भयो ।अघिल्लो बर्ष डेंगु नियन्त्रणका लागि केन्द्र सरकारले स्थानीय तहमा पठाएको रकम सकिसकेको छ । अब डेंगु प्रकोप सुरू हुँदै गर्दा नियन्त्रणका लागि स्थानीय तहसँग बजेट शून्य छ ।‘डेंगु संक्रमण बिस्तारै बढ्दै गएको छ । तर, नियन्त्रणका लागि अहिले नै केन्द्र सरकारले बजेट पठाउन सक्ने अवस्था छैन । अर्को आर्थिक बर्ष सम्म कुरेर बस्दा डेंगु फैलिसक्छ । यो हाम्रो लागि अर्को चुनौती हो,’ डा. दाहाल भन्छन् ।तर, अघिल्ला बर्षमा झैं संक्रमणले महामारीको रूप नलियोस् भन्नका लागि अहिलेदेखि नै सरोकारवालाहरूसँग समन्वय र सहकार्य थलिएको उनको भनाइ छ । डेंगु नियन्त्रणका लागि स्थानीय तहका स्वास्थ्य संयोजक तथा जिल्ला तथा प्रदेशका उच्च अधिकारीसँग समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सुरू भइसकेको दाहालले जानकारी दिए ।तर, विगतका बर्षझैं यो बर्ष पनि डेंगु महामारीको जोखिम नै रहेको महाशाखाका अधिकारी स्वीकार गर्छन् । ‘विगतमा भएका डेंगु प्रकोपका अनुभवले पनि दुई–दुई बर्षमा आउटब्रेक भएको देखिन्छ । तर, यसो भन्दै गर्दा यो बर्ष जोखिम नै छैन भनेर यकीन गर्न सकिँदैन’, डा. दाहालले भने ।

दिउँसो टोक्ने लामखुट्टे…

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विज्ञका अनुसार बिहान घाम उदाएपछि र बेलुका अस्ताउनुको करिब दुई घण्टा अघि समयमा लामखुट्टे बढी सक्रिय हुन्छ । दिउँसो काममा व्यस्त भएकाले त्यही बेलामा टोक्ने गर्छ । ‘अझै पनि मानिसमा लामखुट्टेले बेलुका मात्रै टोक्छ भन्ने आम मानिसको सोच छ । त्यसलाई परिवर्तन ल्याउन जरूरी छ । हामी दिउँसो नै बढी काममा व्यस्त हुन्छौं । त्यही समयमा लामखुट्टेको टोक्ने समय हो । घर, विद्यालय, कार्यालयमा पनि लामखुट्टेले टोक्ने हुँदा त्यस वरपर पानी जम्न दिनुहुँदैन’, डा. पुनले भने । दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै बाहेक लामखुट्टे पाइँदैनथ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर, केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् । जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व र अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, वर्षा लामो समयसम्म हुने र प्रि मनसुन अगाडि भएका कारण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारकतत्व छन् ।

डेंगुले हरेक वर्ष सताउँछ, कीट रोग विशेषज्ञ शून्य

डेंगु नियन्त्रणका लागि इन्टोमोलोजिस्ट (कीट विज्ञान विशेषज्ञ) को ठूलो भूमिका हुन्छ । तर, स्वास्थ्य मन्त्रालयमा इन्टोमोलोजिस्ट दरबन्दी नै छैन । नेपालमा संघीयता लागू हुनुभन्दा अगाडि स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न निकायमा भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्टको दरबन्दी थियो । उक्त विज्ञले कीटजन्य रोगको नियन्त्रणका लागि काम गर्दै आएका थिए । तर, सरकारले संघीयतापछि भएका भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्ट दरबन्दी हटायो । अन्य जनशक्तिले कीट रोग सम्बन्धी काम गर्न नसक्दा पनि डेंगुको संक्रमण नियन्त्रण गर्न गाह्रो भएको विज्ञको दाबी छ । विज्ञका अनुसार इन्टोमोलोजिस्टले डेंगु जस्ता कीटजन्य रोग नियन्त्रण प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने तथा अध्ययन, अनुसन्धान र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन् । सरकारी तथ्यांक अनुसार संघीयता अगाडि विभाग, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयमा ३७ जना इन्टोमोलोजिस्ट कार्यरत थिए ।

डेंगुबाट कसरी बच्ने ?

चिकित्सकहरुका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ । डेंगु संक्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेशी र हड्डी दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र ज्वरो घटेको २–४ दिनमा शरीर चिलाउने र राता दानाहरू आउने हुन्छ । यिनीहरूमा सानो संख्यामा हेमोह्रेजिक ज्वरो आउन सक्छ र तिनीहरूमा केही मानिस रक्तनलीबाट पनि बाहिर निस्केर फोक्सो र पेटमा पानी जमेर रक्तचाप घट्न सक्छ ।डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो खालको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाह अनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने उनको भनाइ छ । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ । पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्नुपर्छ । शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ । लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्नुपर्छ ।

About Author

Advertisement