ढाका: बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानको हत्याका मुख्य आरोपी तथा सेनाका पूर्वमेजर मुजफ्फर हुसेन ४५ वर्षपछि पक्राउ परेका छन्।
३० मे १९८१ मा चट्टग्राम (चिटागोङ) सर्किट हाउसमा रहमानमाथि गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका हुसेन लामो समयदेखि फरार थिए।
ढाका महानगर डिटेक्टिभ प्रहरीका अनुसार हुसेनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही र कोर्ट मार्सलका लागि बंगलादेशी सेनालाई बुझाइएको छ।
सन् १९८१ मा भएको उक्त हत्या र असफल सैन्य विद्रोह लगत्तै उनी बंगलादेश छाडेर विदेश भागेका थिए। हालै स्वदेश फर्किएका उनलाई गोप्य सूचनाका आधारमा ढाकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा हुसेनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्।
कसरी भएको थियो हत्या?
तत्कालीन राष्ट्रपति जियाउर रहमान आफ्नो पार्टीका नेताहरूसँगको बैठकका लागि चट्टग्राम भ्रमणमा रहेका बेला सुरक्षित मानिने सर्किट हाउसमा बसेका थिए। ३० मे १९८१ को तडके बिहान करिब ४ बजे सेनाका मध्यम तहका असन्तुष्ट अधिकारीहरूको एक समूहले ११ वटा सबमसिन गन, ३ वटा रकेट लन्चर र ग्रेनेडसहित सर्किट हाउसमा आक्रमण गरेका थिए।
आक्रमणकारीहरूले सुरक्षामा खटिएका गार्डहरूलाई मारेर भित्र पसी राष्ट्रपति रहमानलाई घेरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उक्त भीषण आक्रमणमा परेर उनको घटनास्थलमै मृत्यु भएको थियो। यो सम्पूर्ण हिंस्रक घटनाक्रम जम्मा २० मिनेटभित्र समाप्त भएको थियो।
को हुन् जियाउर रहमान?
जियाउर रहमान बंगलादेशको इतिहास र राजनीतिमा एक अत्यन्त प्रभावशाली व्यक्तित्व हुन्। सन् १९७१ को मुक्ति युद्धमा महत्वपूर्ण भूमिका खेलेका उनले रेडियोमार्फत बंगलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए। पछि सेनाप्रमुख बनेका रहमान सन् १९७७ को सैन्य विद्रोहपछि बंगलादेशको राष्ट्रपति बनेका थिए। उनले नै सन् १९७८ मा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को स्थापना गरी मुलुकमा बहुदलीय व्यवस्थाको पुनर्बहाली गरेका थिए।
रहमानको हत्यापछि उनकी पत्नी खालिदा जियाले पार्टीको नेतृत्व सम्हाल्दै देशको प्रधानमन्त्री बनिन्। हाल बंगलादेशको सत्तामा रहेको बीएनपीका नेता तथा वर्तमान प्रधानमन्त्री तारिक रहमान उनकै जेठा छोरा हुन्।










