३१ अगस्तदेखि शुरु हुने एसएफए-को सिक्किम प्रिमियर लीग २०२४

IMG-20240829-WA0232

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए) को तत्वावधानमा प्रत्येक वर्ष आयोजना गरिने सिक्किम प्रिमियर लीग (सिनियर डिभिजन लीग) आगामी ३१ अगस्तदेखि यहाँको पाल्जोर स्टेडियममा आयोजना हुने भएको छ। एसोसिएशनका महासचिव फूर्वा शेर्पा अनि अन्य कार्यकारी सदस्यहरूले आज राजधानीस्थित एसएफएको कार्यालय फूटबल हाउसमा पत्रकार सम्मेलन डाकेर यसको जानकारी दिएका छन्। आगामी १० अक्टोबरसम्म चल्ने यस लीगमा जम्मा ८ वटा क्लबले सहभागिता जनाएको छ भने एउटा क्लबले १४ वटा गरेर जम्मा ५६ वटा म्याच खेलाइनेछ। यस वर्ष सिक्किम प्रिमियर लीग खेल्ने आठवटा क्लबहरूमा सिक्किम पुलिस एफटी, गान्तोक हिमालयन एफसी, आक्रमण एफसी, सिक्किम बोइस एफसी, कुमार स्पोर्टिङ क्लब, सिङ्गताम होलर्स एससी, ब्रदरहुड एससी र साङ्ग मुस्ताङ्ग एफसी रहेको छ। उल्लेखनीय छ, एसएफए-द्वारा आयोजना गरिने सिक्किम प्रिमियर लीग मात्र एउटा लीग हो जसको विजेता क्लबले आइ लीग अनि अन्य इन्स्टीट्यूशनल लीग खेल्ने अवसर प्राप्त गर्छ। यसरी नै लीगका विजेता अनि उपविजेता क्लबले एसएफए-ले नै आयोजना गर्ने प्रतिष्ठित गभर्नर्स गोल्ड कपमा स्वतः प्रवेश पाउने गर्छ। त्यति मात्र नभएर यस वर्षदेखि सिक्किम प्रिमियर लीगको विजेतालाई नर्थइस्ट लीगमा पठाउने पनि एसएफए-ले निर्णय लिएको महासचिव शेर्पाले जानकारी गराए।
पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव शेर्पाले एसएफए-को आगामी क्यालेण्डर इभेन्टस बारे पनि जानकारी गराए जसमा 48औं गभर्नर्स गोल्ड कप, यूथ लीग जसमा अण्डर १३, १५ र १७ साथै बेबी लीग पनि रहेको, महिला लीग आदि रहेको छ। पाल्जोर स्टेडियममा हालै सम्पन्न स्वतन्त्रता कप फूटबल टुर्नामेन्टमा दर्शकहरूको उपस्थितिले उत्साहित सिक्किम फूटबल एसोसिएशनले फूटबल प्रेमी दर्शकहरूलाई आगामी सिक्किम प्रिमियर लीगमा पनि उत्तिकै सहभागिता जनाइदिने अपील गरेको छ। तथापि, लीगको सबै म्याच नै लाइभ प्रशारणको व्यवस्था गरिएको पनि महासचिव शेर्पाले थप बताए। सिक्किम फूटबल एसोसिएशनले हालको समय राज्यमा फूटबलसँगै अन्य खेलकुदको विकासमा राज्य सरकार र सम्बन्धित विभागको सहयोगको निम्ति राज्य सरकार, खेलकुद एवं युवा मामिला विभाग र विशेष गरेर मुख्यमन्त्री प्रेमसिहं तामाङप्रति आभार व्यक्त गरेको छ।

About Author

Advertisement