गान्तोक। सिक्किम ट्रक चालक संगठन अनि ट्रक मालिक संगठनको एक जरुरी समन्वयक सभा चालक संगठनको केन्द्रिय कार्यालय तादोङ गान्तोकमा आज सम्पन्न भयो। संगठनका केन्द्रिय अध्यक्ष धन बहादुर छेत्रीको अध्यक्षतामा तथा महासचिव सुकराम राईद्वारा सञ्चालित एंव कार्यकारी अध्यक्ष रमेश शर्माद्वारा स्वागत जनाइएको यस सभामा विशेष राजधानी गान्तोकमा माल वाहक ट्रकहरुको आजसम्म कुनै स्ट्याण्ड नभएको अनि २५ वर्षे सरकारले स्ट्याण्डको समस्याको समाधान नगरिदिएकोमा दुख व्यक्त गर्दै अब वर्तमान एसकेएम सरकारले गान्तोकसहित राज्यको ६ वटै जिल्लामा ट्रक स्ट्याण्डको समस्यालाई यथाशीघ्र समाधान गरिदिने छ भन्ने विश्वास रहेको बताउँदै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ गोलेसमक्ष स्ट्याण्ड निर्माणको निम्ति चालक संगठनले माग पत्र चढ़ाउने सर्वसम्मतिद्वारा प्रस्ताव पारित गरेका छन्। ६ वटै जिल्लाबाट चालक संगठनका प्रतिनिधिहरु एंव केन्द्रिय कार्यकारी सदस्यहरुको उपस्थिति रहेको उक्त सभामा सिक्किम बाहिरका ट्रकहरुले सिक्किमभित्र लोकल खेपिरहेकोमा आपत्ति जनाउँदै अबउसो बाहिरका ट्रकहरुले लोकल खेप्न नपाउने यदि खेपेको भेटाइएको खण्डमा कड़ा कार्वाही गरिने निर्णय लिएको छ। कतिपय चालकहरुले ड्रग्स सेवन गरेर, गाड़ी दुर्घटना गराइरहेको अवगत गराउँदै अब चालकहरुले चालक संगठनको परिचय पत्र अनिवार्यरुपमा बनाएर आफ्नो साथमा राख्नु पर्ने विषयमा चर्च वहश गर्दै पुलिस, गाड़ी मालिक अनि कम्पनीले चालकहरुको परिचय पत्र छ – छैन राम्ररी जाँज गरिदिने अपील गरेको छ।
चालकहरुले संगठनको परिचय पत्र बनाउँदा बिमाको सुविधा पनि दिइएको जानकारी पनि गराइयो। चालकहरुले आइतबार भरसक गाड़ी नकुदाइदिने सुझाउ दिइएको छ भने यदि आइतबार पनि गाड़ी कुदाउनै परेको खण्डमा सन्डे पर्मिट काटेर मात्रै गाड़ी कुदाइदिने आग्रह सभाले गरेको छ। सरकारले दिएको पर्मिटको आधारमा सबै ट्रकहरुले मालहरु ओसार-पसार गर्न पाइयोस् भनी सभाले छलफल गरेको छ। उक्त सभालाई सभाध्यक्ष धन बहादुर छेत्री, कानुनी सल्लाहकार मिङ्मा शेर्पा, गेजिङ शाखाका अध्यक्ष ज्ञान बहादुर छेत्री, सिङ्ताम शाखाका उपाध्यक्ष मोहन राई, रानीपुल अनर्स एंव चालक संगठनका अध्यक्ष प्रेम छेत्री तथा अन्यले आ-आफ्नो वक्तव्य राखेका थिए।








