गान्तोक: गत ८ अप्रेलको दिन सिङताममा भएको घटनामा घाइते बनेका केशव सापकोटा जो अहिले मणिपालमा उपचारधीन छन्, उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले गहिरो दुःख व्यक्त गरेको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सिक्किम जस्तो पवित्र राज्यको शान्ति शृङ्खला भंग हुनुहुँदैन भन्ने आग्रह सबैमा गर्दछ र सो घटनाको तीव्ररूपमा भत्सर्ना जनाएको छ।
घटनाको विषयलाई लिएर विपक्षमा रहेको एसडीएफ पार्टीका नेता पवन चामलिङ भने सो घटनाको दोष सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमाथि थोपरेर आफू पानीमाथिको ओभानो हुन खोज्दैछन्, जसलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टी त्यस्तो गैरजिम्मेवार आरोपको ठाडो विरोधसितै खण्डन गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पच्चीस वर्ष अनेकौं जालझेल, षड्यन्त्र, अधिनायकवादी राजनीतिको शिकार बनाएर जसरी जनता त्रसित बनाइए, अनावश्यक यातनाको सिकार बनाइए, जसरी कर्मचारीहरुको स्वतन्त्रता खोसेर राज गरियो, जसरी नारीहरुको मासिक पीडालाई उपहासको हाँसो बनाइयो, जसरी तीन लाख युवाहरूका छ लाख हातलाई अरुको गाला र शरीरमा बजार्ने शंखनादै गरियो त्यो सब बिर्सेको नाटक गर्दै आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको लोकतान्त्रिक छविलाई धमिलो पार्ने कुत्सित प्रयासमा लागेको देख्दा अब पवन चामलिङको नौटंकीले वैशाखी नपाउने सिक्किमे जनताले बुझिसकेको बताइएको छ। यसका साथै मान्छेको प्राण नै नगई मृत्यु घोषणा गरि पोस्टरिङ्ग गर्ने पार्टीका नेता पवन चामलिङले अहिले निधारमा खरानी धसेर साधु बिरालोको नाटक गर्दा बिचरा भन्ने समाज अब पवन चामलिङले नपाउने जानकारी गराएको छ।
एसडीएफका नेता पवन चामलिङले एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेलाई दोष्याउँदै दिएको बयान निन्दनीय, भ्रामक र भड़काउपूर्ण रहेको एसकेएम पार्टीले ठहर गरेको छ। पवन चामलिङले दिएको यस प्रकारको गैर जिम्मेवार बयानको खण्डन गर्दै उनलाई आफ्नो बयान फिर्ता लिने एसकेएम पार्टीले सुझाउ दिएको छ।
वास्तवमा हिजो जुन घटना भयो, त्यो विपक्षी राजनीतिक पार्टी विशेष गरी एसडीएफ पार्टीका नेता चामलिङ अनि हाम्रो सिक्किम पार्टीका भाइचुङ भोटियाको निर्देशन र षड्यन्त्रमा घटेको आरोप लगाएको छ। जेएसीलाई सिङतामा जुलुस निकाल्नको निम्ति प्रसाशनले अनुमति दिएको थिएन भन्ने प्रष्ट भइसकेको छ तर पनि सिङताममा एसकेएम पार्टीको चालक संगठनले रक्तदान शिविर गर्दैछ भन्ने जान्दा जान्दै विपक्षी पार्टी, पवन चामलिङ र भाइचुङ भोटियाले जेएसीलाई जबर्जस्ती जुलुस गर्न दबाब दिएर आफैंले दङ्गा फैलाएको हो पार्टीले दावी गरेको छ।
पवन चामलिङले अब आफ्नो एक्लो प्रयासमा गरेको राजनीतिलाई सिक्किमे जनताले पत्याउँदैनन् भन्ने बुझेपछि गैर राजनीतिक संस्थाहरूलाई वैशाखी बनाएर राजनीति गर्दै हिँडिरहेको एसकेएम पार्टीले आरोप लगाएको छ। चामलिङले आफ्नै सरकारकालमा पनि आफ्नै पार्टीका सदस्यहरूमाथि प्राणघातक हमला गरेर एसकेएम पार्टीलाई दोष लगाउने गरेको धेरै प्रमाण रहेको किटान गरेको छ। यसपल्ट पनि जेएसीलाई जुलूस गर्न दबाब दिएर अन्ततः चामलिङले नै यो घटना घटाउने षड्यन्त्र गरेको आरोप लगाएको छ। त्यसैले पवन चामलिङले जसरी एसकेएम पार्टीलाई दोष्याउँदैछन् त्यो नितान्त झूट र फरेबीको खेती मात्र रहेको विज्ञप्तिमा बताइएको छ। यस्तो षन्ड्यन्त्रकारी काम गर्ने नियत केवल पवन चामलिङको भ्रष्ट दिमागबाट मात्र उब्जिने गरेको पार्टीको भनाइ रहेको छ। पवन चामलिङलाई एसकेएम पार्टीले दिएको सुझाउ अनुसार सिक्किमको शान्ति शृङ्खला भंग गर्ने, एकतालाई तोड़ेर समाजलाई विभाजित गर्ने, कुविचार बोकेर जनतालाई अन्योलमा पार्ने जस्ता कामहरू आउने दिनहरूमा चामलिङले गर्न हुँदैन्।









