जलपाईगढी: ९५ प्रतिशत आँखा नदेख्ने भएर पनि सुभिनय दास लामो समयदेखि शिक्षकको रुपमा कार्य गर्दै आएका छन्। उनले ब्ल्याक बोर्डमा सजिलै लेखेर शिक्षण कार्य गर्दै आएका छन्। उनका पठन-पाठनबाट छात्र-छात्रा, अभिभावक र सहकर्मी शिक्षकहरु सन्तुष्ट छन्।
जलपाईगुडी सदर ब्लकको नर्थ सर्कलको बेलाकोबा क्षेत्रको कुमारपाडा प्राथमिक विद्यालयका शिक्षक सुभिनय दास यस सर्कलका एकमात्र आँखाहीन शिक्षक हुन्। प्रत्येक दिन टोटोमा चढेर विद्यालय जान्छन्। विद्यालयमा पुगेपछि, छात्र-छात्राहरु उनलाई हात समातेर कक्षामा लैजान्छन् र कुर्सीमा बस्ने व्यवस्था गर्छन्। विद्यालयका अरु शिक्षकहरूको सहयोगमा लामो समयदेखि शिक्षण कार्य गर्दै आएका छन्। विद्यालय निरीक्षकलाई उनका शिक्षण कार्यमा कुनै गुनासो छैन। छात्र-छात्राहरु भने उनको पढाइमा धेरै सन्तुष्ट छन्। विद्यालयका शिक्षक र अभिभावक पनि खुशी छन्।विद्यालयका प्रमुख शिक्षक अजीत पालले भने, “सुभिनय लामो समयदेखि यस विद्यालयमा कार्यरत छन्। आँखा नदेख्ने भएपनि उनी आफ्नो स्वाभाविक तरिकामा बच्चाहरूसँग कक्षा लिन्छन्। हामी पनि सकेसम्म उनको सहयोग गर्ने प्रयास गर्छौं।”









