१०४ वर्षीय स्याङ्देन म्हेम्हेको जन्म दिन पालन

IMG-20250926-WA0190

खरसाङ: तीनधारे महानदी समष्टिको सिविटार बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बामा प्रमुख लामा म्हेम्हे १०४ वर्षीय चन्द्रवीर लामा (स्याङ्देन म्हेम्हे) को जन्म दिन पालन गरिएको छ। सन् १९२१ मा जन्मेका स्याङ्देन म्हेम्हे हालमा १०४ वर्ष पुगेकोले शुक्रबार झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सिविटार बाघमारा बस्ती, डोल्मा लाखाङ खरसाङका लामा म्हेम्हे र आनीबरुको समूह साथै लामा म्हेम्हेको चेला बा अनुयायी लामाहरुद्वारा बौध्द परम्परा अनुसार डोल्मा पूजा गरेका थिए।‌ स्याङ्देन म्हेम्हेको‌ १०४औं जन्म दिन बौध्द गेदुङ संघ सिविटार बाघमारा अनि काङयुर पूजा सञ्चालन समितिको आयोजनामा सम्पन्न भएको थियो। यस अवसरमा स्याङ्देन म्हेम्हेको‌ चेलाहरु वा अनुयायीजरुले बौध्द परम्परा अनुसार कुसुम मेण्डल उनलाई अर्पण गरेका थिए। त्यसपछि सबैको उपस्थितिमा १०४ वर्षीय चन्द्रवीर लामा (स्याङ्देन म्हेम्हे) को‌ जन्म दिन केक काटेर आयोजना गरिएको थियो। उनको जन्म दिन पालन गर्नलाई विभिन्न स्थानहरुबाट मानिसहरु उपस्थित रहेका थिए। यस अवसरमा झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सञ्चालन समितिको सभापति दावा लामा, सचिव विकास लामा, ११ दिने पूजा आयोजना कमिटीको सभापति पाल्साङ तामाङ र सचिव रोशन तामाङ लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए‌। स्याङ्देन म्हेम्हेले सिविटारको बाघमारा बस्तीमा झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा निर्माण गर्नुको साथै खरसाङ, दार्जिलिङ, कालेबुङ, सिक्किम, नेपालसम्म चेलाहरु बनाएका छन्। उनले जवान अवस्थामा हुँदा दोस्रो विश्व युद्धको अन्तिम समयतिर युध्द लडेको जानकारी रहेको छ।‌ उनी हालमा १०४ वर्ष पुगेका छन् भने आफ्नो बाघमारा बस्तीस्थित घरमा बस्दै आएका छन्। उक्त जन्म दिन पालनपछि झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बामा सनबहादुर तामाङको अध्यक्षतामा सभा पनि सम्पन्न भएको छ।‌ यस कार्यक्रमलाई पञ्चायत सदस्य राजीव तामाङले सञ्चालन गरेका थिए।

आज सम्पन्न १०४ वर्षीय चन्द्रवीर लामा (स्याङ्देन म्हेम्हे)को‌ जन्म दिन पालन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गुम्बा सञ्चालन समितिको सभापति दावा लामाले विस्तृत रुपमा जानकारी गराएका छन् भने आगामी २ नोभेम्बरदेखि शुरु भईरहेको पूजा विषयमा सपन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement