नई दिल्ली: ईरानी रक्षा मन्त्रालयले अमेरिका अब अरू देशमाथि आफ्नो निर्णय लाद्ने अवस्थामा नरहेको टिप्पणी गरेको छ। मन्त्रालयका प्रवक्ता रेजा तलाएई निकले सरकारी टेलिभिजनमार्फत ट्रम्प प्रशासनको दबाब नसहने चेतावनी दिएका हुन्। यो बयान यस्तो समयमा आएको छ, जब ईरानले विश्वकै महत्त्वपूर्ण समुद्री मार्ग ‘होर्मुज स्ट्रेट’ खुला गर्ने नयाँ प्रस्ताव अमेरिका समक्ष पठाएको छ।
न्यूयोर्क टाइम्सका अनुसार ईरानले अघि सारेको प्रस्तावमा मुख्य तीन सर्तहरू छन्। पहिलो, अमेरिका र इजरायलसँगको युद्ध अन्त्य भई आगामी दिनमा हमला नहुने ग्यारेन्टी हुनुपर्ने। दोस्रो, अमेरिकाले लगाएको समुद्री नाकाबन्दी हटेपछि होर्मुज खुला गरी जहाजहरूको आउजाउ सुचारु गर्ने र अन्तिममा परमाणु कार्यक्रमका विवादित मुद्दामा छलफल गर्ने।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको यो ‘स्टेप-बाई-स्टेप’ प्रस्तावलाई अस्वीकार गरिदिएका छन्। ह्वाइट हाउसले परमाणु कार्यक्रमको ठोस समाधान ननिस्किएसम्म होर्मुज खुला गर्दा अमेरिकी पक्ष कमजोर हुने अडान लिएको छ।
यसैबीच, अमेरिकी नाकाबन्दीका कारण ईरानको तेल भण्डारण क्षमता (स्टोरेज) संकटमा परेको छ। हालको उत्पादन र निर्यातको अवस्था हेर्दा ईरानसँग अब मात्र २२ दिनका लागि तेल भण्डारण गर्ने ठाउँ बाँकी रहेको प्रतिवेदनहरूले जनाएका छन्। यदि छिट्टै निकास ननिस्किए ईरानले आफ्नो तेल उत्पादन नै कटौती गर्नुपर्ने बाध्यता आउन सक्छ।










