खरसाङ: हिमालयन पेन्टिकोस्टल चर्च डायोसिस युवाहरूको चौथो वार्षिक सम्मेलन सम्पन्न भएको छ। उक्त चौथो वार्षिक सम्मेलन बिजनबारीको नेजी चर्चमा सम्पन्न भएको छ। उक्त तीन दिवसीय युवा सममेलनमा वक्ताको रूपमा दार्जीलिङबाट पास्टर अमर राई उपस्थित थिए। यस तीन दिवसीय वार्षिक सम्मोलनलाई युवा झुण्डको सचिव प्रताप मंगरले सञ्चालन गरेका थिए भने शुरुको प्रार्थना स्थानीय पास्टर जोहन राईले गरेका थिए। यस युवा सम्मेलनमा हिमालयन पेन्टीकोस्टल चर्चको विभिन्न स्थानहरूबाट युवाहरू उपस्थित रहेका थिए। कार्यक्रममा मङ्पु सिटोङ, तकदाह टिस्टा भेल्ली, तकदाह ग्लेनवर्ण, पुल बिजनबारी, दार्जीलिङ रिम्बिक, कालेबुङ, खरसाङ आदि क्षेत्रबाट युवाहरू उपस्थित रहेका थिए। सम्मेलन वक्ता पास्टर अमर राईले युवाहरूको विभिन्न समस्याहरू र त्यसको समाधान विषयमा पनि बाईबलबाट शिक्षा दिइएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा विशप रेभरेन्ट डा पीबी लेप्चा उपस्थित रहेका थिए। उनले युवाहरूलाई युसुफको जीवनबाट बाईबलीय शिक्षा प्रदान गरेका थिए। कार्यक्रममा आर्च विशप पीबी लेप्चालाई पुल बिजनबारी पास्टोरेटबाट सम्मान जनाउँदै आर्च विशपको लागि बधाई पत्र पनि सुम्पिइएको थियो। कार्यक्रममा बिहानीको सेवाको लागि एल्डर उदय सुब्बा अनि सेवक साईमन लेप्चा उपस्थित रहेका थिए। सम्मेलनमा युवाहरूमा पास्टर जोहन राईले प्रार्थनामा अगुवाई गरेका थिए।

सम्मेलनमा डायोसिसको सभापति पास्टर साकोम लेप्चा, सचिव पास्टर सिमोन गुरुङ, कोषाध्यक्ष पास्टर जेम्स तामाङ उपस्थित रहेका थिए। यस युवा सम्मेलनमा धन्यवाद ज्ञापन युवा झुण्डको सभापति फानस लेप्चाले राखेका थिए भनी सचिव प्रताप मंगरले जानकारी दिएका छन्।










