हिमालबाट उठ्यो ११२ टन फोहर

IMG-20240608-WA0045.jpg

काठमांडू: हिमालमा थुप्रिएको फोहोर सङ्कलनमा जुटेको नेपाली सेनाले आठ हजार मिटरभन्दा अग्ला १० वटा हिमालबाट ११२ टन फोहोर र १५ वटा शव सङ्कलन गरेको छ। विश्व वातावरण दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको ‘सफा हिमाल अभियान–२०२४’ को समापन समारोहमा सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम, कञ्चनजङ्घा, अन्नपूर्ण, बरुन्टसे, नुप्त्सेलगायत १० वटा हिमालबाट ११२ टन फोहोर तथा १५ वटा मानव शव सङ्कलन गरेको जानकारी गरायो।

हिमालको पर्यावरण संरक्षण गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सरकारले सेनासँग मिलेर सन् २०१९ देखि ‘हिमाल सफा’ अभियान सञ्चालन गरेको थियो।
यस वर्ष ‘सफा हिमाल अभियान–२०२४’ अन्तर्गत गत अप्रिल १२ देखि विश्व वातावरण दिवस (जुन ५) सम्मको ५५ दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ टन फोहोर र आरोहणका क्रममा ज्यान गुमाएका चार जनाको शव तथा एक मानव अस्थिपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्माले प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्थाका कारण यस वर्ष ११ टन फोहोर र चार वटा मानव शव र एक मानव अस्थिपञ्जर सङ्कलन गरिनु उपलब्धिमूलक रहेको बताए।
विसं १९३५ देखि वन्यजन्तु तथा पर्यावरण संरक्षणका लागि नेपाली सेना निरन्तर रूपमा खटिरहेको बताउँदै आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुन सक्ने विपत् तथा दुर्घटनाको उद्धार तथा राहतमा परिचालन हुने गरी अनुभव प्राप्त गरेको बताए।
यस वर्षको अभियानमा सेनाले सहायक रथी सञ्जय देउजाको प्रत्यक्ष निगरानीमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १३ जना तालिमप्राप्त सैनिक र २८ अनुभवी शेर्पा गरी ४१ जना अनुभवी आरोहीलाई सफाइ अभियानमा खटाएको थियो। हिमालबाट सङ्कलन गरिएका शव काठमांडूको त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरी गृह मन्त्रालयमार्फत सम्बन्धितको परिवारलाई बुझाइनेछ। सगरमाथामा करिब डेढ लाख टन फोहोर र तीन सयभन्दा बढी आरोहीका मृत शरीर रहेको स्रोतले जनाएको छ।

About Author

Advertisement