सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको सांगठनिक सभा सम्पन्न भएको छ। सभामा पार्टी अध्यक्ष अनित थापा उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्दै अनित थापाले जीटीए त्यागेपछि पहाडमा सरकार नै नरहेको दाबी गरे। उनले भने, “हामीले जिटिए त्याग गरेपछि पहाडमा सरकार नै छैन। हामीले जिटिए त्याग गरेपछि अहिले व्यवस्थामा रहनेहरुलाई गाह्रो भएको छ। कारण दिने उहाँहरु हो।”
जीटीए चलाउने गठबन्धनलाई निशाना बनाउँदै उनले भने, “अब जीटीए चलाउने गठबन्धनको जिम्मेवारी ठूलो छ। उनीहरुले आफूले दिएको वचन पूरा गर्ने समय आएको छ।” उनले थपे, “मानिसहरूले गठबन्धनलाई गोर्खाल्यान्डको निम्ति अनि उनीहरूले देखाएको सपना पूरा हुन्छ भनेर भोट हालेका थिए तर पाँच महिनाभित्र जनताले कुरा बुझेका छन् ।”
पहाडको वर्तमान राजनीतिबारे थापाले भने, “अहिले पहाडको राजनीति झन् धमिलो भएको छ। हिजो जसले भोट हालेको छ उनीहरुले पनि अहिले बुझ्दैछन्।” उनले यो पनि भने, “राजनीतिमा जहिले पनि आवाज राख्ने ठाउँ हुनुपर्छ। तर अहिले पहाडमा त्यो राख्ने ठाउँ नै हराएको छ।” साथै, “क्षेत्रीयता गुमाउँदा पहाडले के गुमाएको छ भन्ने आजको परिस्थितिमा मानिसले भोगेको पनि छ अनि बुझ्नु पनि थालेको छ।”
आफ्नो राजनीतिक यात्राबारे बोल्दै उनले भने, “मैले जनता समक्ष गएर कहिले पनि हुन नसक्ने कसम खाइन। यो ल्याउँछु त्यो ल्याउँछु कहिले भनिन। मैले पहाडमा रचनात्मक परिवेश सृजना गर्ने राजनीति गरे। जनताको इच्छालाई सम्मान गर्दै मैले जिटिए त्याग गरेको हुँ।”
पार्टीको भविष्यबारे आत्मविश्वास व्यक्त गर्दै थापाले भने, “समयमा बिजीपीएम फेरि सत्तासिन पार्टी हुनेछ। हामीले अहिले नेतृत्व त्यागेका हौँ। हारेका होइनौं। समयअनुसार नेताले त्याग्न पनि सक्नुपर्छ।” उनले थपे, “हिसाब गन्ती मिलाउन सक्यो भने राजनीतिमा सदैव अघि भइन्छ। हामी हाम्रो गन्तीमा अघि नै छौं।”
मतदाताबारे उनले भने, “मतदाताहरूको दिमागमा पनि किन चाहिँ अर्को ठाउँमा भोट हालेछौँ भन्ने कुरा पसिसकेको छ।” भिडको चरित्रबारे उनले भने, “हिजोको दिन पार्टीबाट लिन्छु भन्ने भिड थियो भने आज पार्टीलाई दिन्छु भन्ने भिड जम्मा भएको छ। तर त्यो भिडले राजनीतिको लक्ष्य निर्धारण गर्दैन भन्ने हामीले बुझ्यौ।”
निर्णय लिने समयबारे उनले भने, “पानी सफा भएको बेलामा निर्णय लिनुपर्छ। पानी धमिलो भएको समयमा निर्णय लिँदा धोका खाइन्छ।” र, “अहिले हामीलाई कुनै हतार छैन। हामीलाई कुनै दौडमा जित्नु छैन।”
संगठनबारे थापाले भने, “सोनादा पच्याङ समष्टिमा समिति बनाउन पहिलोपल्ट सक्षम भएका छौं। यदि हामीले संगठनको समिति नै बनाउन सकेनौं भने संगठन कसरी बढाउन सकिन्छ?” उनले स्वीकारे, “सांगठनिक रूपमा हामी कमजोर थियौं। युवा भाइहरुले नयाँ जोश लिएर जिम्मेवारी लिनुभएको छ। मलाई विश्वास छ उनीहरुले संगठनलाई अघि बढाउनेछन्।”





