मेक्सिको सिटी: रोमाञ्च र उत्तेजनाले भरिएको हाई भोल्टेज म्याचमा जीत हासिल गरी ईंग्ल्याण्डले फिफा वर्ल्ड कप २०२६-को क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सोमवार बिहान खेलिएको चरम रोमाञ्चक म्याचमा १० जना खेलाड़ीमा सीमित ईंग्ल्याण्डले टुर्नामेण्टको सह-आयोजक मेक्सिकोलाई ३-२-ले पराजित गऱ्यो। वर्ल्ड कपको क्वार्टर फाइनलमा ईंग्ल्याण्डको भिड़न्त नर्वेसँग हुनेछ, जसले ब्राजीललाई २-१-ले पराजित गऱ्यो। राउण्ड अफ ३२-सम्म एउटा गोल पनि नखाइ शत प्रतिशत जीतको रेकर्ड राख्ने मेक्सिको टुर्नामेण्टबाट बाहिर हुने दोस्रो सह-आयोजक बनेको छ। क्यानाडाले अगावै टुर्नामेण्टबाट बिदा लिइसकेको छ। अज्टेका स्टेडियममा खेलिएको म्याचमा ईंग्ल्याण्डको निम्ति जूड बेलिंघमले २ र कप्तान ह्यारी केनले १ गोल गरे। यसरी मेक्सिकोको तर्फबाट जुलियन क्विनोनेस र राउल जिमिनेजले १-१ गोल गरे। म्याच शुरुदेखि नै रोमाञ्चक रह्यो अनि पहिलो हाफको खेलमै ३ गोल भयो। म्याच खराब मौसमले गर्दा १ घण्टा ढिलो गरी शुरु भयो। म्याचमा ३४ प्रतिशत पोजेशनको साथ खेल्ने ईंग्ल्याण्डको निम्ति स्टार मीडफिल्डर बेलिंघमले २ मिनटभित्र २ गोल गरेर मेक्सिकोमाथि दबाउ सृष्टि गरे। उनले पहिला बुकायो साकाको क्रसमा हेडरद्वारा ३६औं मिनटमा टीमलाई पहिलो गोल दिलाए। त्यसको २ मिनटपछि कप्तान केनको सुन्दर एसिस्टमा बेलिंघमले दोस्रो गोल गरी टीमको बढ़तलाई दोब्बर पारे। यसको साथै बेलिंघमले जारी वर्ल्ड कपमा आफ्नो गोलसंख्यालाई ४ पुऱ्याए। उनले यसअघि क्रोएशिया र पानामाविरुद्ध पनि १-१ गोल गरेका थिए। लगातार २ गोल खाएपछि मेक्सिकोले मध्यान्तरको ठीक अघि १ गोल गऱ्यो। जुलियन क्विनोनेसले ४२औं मिनटमा गोल गरेर मेक्सिकोको आशालाई जीवित राखे। यो उनको जारी वर्ल्ड कपमा चौथो गोल हो। दोस्रो हाफको खेल झन् रोमाञ्चक रह्यो अनि ४९औं मिनटमा निक ओ’रेली शट् बारमा लागेर फर्कियो। यसरी ५४औं मिनटमा मेक्सिकोका जेसस गालार्डोलाई घातक ट्याकल गर्दा ईंग्ल्याण्डका जारेल क्वान्साहले रेड कार्ड देखेर मैदान छोड़नु पऱ्यो। त्यसपछि रहल समयमा ईंग्ल्याण्डले १० जना खेलाड़ीको साथ लड़ाइँ गर्नु पऱ्यो। एकजना खेलाड़ी कम्ती भए पनि ईंग्ल्याण्डले ६०औं मिनटमा म्याचको तेस्रो गोल हासिल गऱ्यो। कप्तान केनले पेनल्टीबाट गोल गरे। जारी वर्ल्ड कपमा यो केनको छैटौं गोल हो। यसरी समग्रमा यो केनको वर्ल्ड कपमा १४औं गोल हो। मेक्सिकोले पनि हरेस नखाइ लड़ाइँ जारी राख्यो। ईंग्ल्याण्डका कप्तान केनले बललाई क्लीयर गर्ने प्रयासमा बक्सभित्र मेक्सिकोका गुटिरेजलाई फाउल गर्दा रेफरीले भीएआर समीक्षापछि होम टीमलाई पेनल्टी प्रदान गऱ्यो। राउल जिमिनेजले ६९औं मिनटमा पेनल्टीबाट गोल गरेर मेक्सिकोलाई म्याचमा कायम राखे। त्यसपछि रहल समयमा मेक्सिकोले लगातार आक्रमण गरे पनि मौकाहरूको फाइदा उठाउन सकेन अनि ईंग्ल्याण्डले ३-२-ले म्याच जितेर क्वार्टर फाइनलमा प्रवेश गऱ्यो।









