स्विस् ओपनमा सिन्धू नखेल्ने, श्रीकान्त र प्रणयमाथि भरोसा

IMG-20260310-WA0003

बासेल: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू दुबईमा ३ दिनसम्म फसेको तनाउबाट मुक्त हुन सकेकी छैनन्। यसैकारण उनले स्विस् ओपनमा हिस्सा लिनेछैनन् जबकि एचएस प्रणय र किदाम्बी श्रीकान्तले २५०००० डलर पुरस्कार राशि भएको यस टुर्नामेण्टमा भारतीय चुनौती पेश गर्नेछन्। ईरानमाथि अमेरिका र इज्रायलको हमला र ईरानको जवाबी कार्वाहीले गर्दा खाड़ी क्षेत्रमा हवाई प्रतिबन्धहरूले गर्दा सिन्धू ३ दिन दुबईमा फसेकी थिइन् अनि उनले अल ईंग्ल्याण्ड च्याम्पियनशीपबाट नाम फिर्ता लिनु परेकी थियो। भारतीय ब्याडमिण्टन संघका सचिव सञ्जय मिश्राले भने, सिन्धू स्विस ओपनमा खेल्नेछैनन्। दुबईमा उनको अनुभव कस्तो रहेको थियो भन्ने हामीलाई थाहा छ। उनी बर्मिंघम जान सकेकी थिइनन्। यसबाट मुक्त हुन उनलाई केही समय लाग्नेछ। उल्लेखनीय छ, भारत फर्किएपछि सिन्धूले दुबईको अनुभवले गर्दा निक्कै तनाउमा रहेको स्वीकार गरेकी थिइन्। यसरी अब उनी अप्रेलमा ब्याडमिण्टन एशिया च्याम्पियनशीपको माध्यमले नै खेलमा फर्किनेछिन्।
पुरुष एकलमा अनुभवी श्रीकान्तको सामना पहिलो राउण्डमा जेसन गुनावानसँग हुनेछ। श्रीकान्त गत वर्ष मलेशिया मास्टर्स र सैयद मोदी इण्टरनेशनलको फाइनलमा पुगेका थिए। यसरी वर्ल्ड च्याम्पियनशीप २०२३-का काँस्य पदक विजेता प्रणयले पहिलो राउण्डमा जापानका कोकी वातानाबेविरुद्ध खेल्नेछन्। तरूण मन्नेपल्लीको सामना जापानका केन्ता निशिमोतोसँग अनि आयुष शेट्टीको भिड़न्त क्यानाडाका ब्रायन यंगसँग हुनेछ। किरण जर्जले सिंगापुरका लोह कीन यू-को सामना गर्नेछन्। पुरुष युगलमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ीले पहिलो राउण्डमा सिंगापुरका एंग कीट वेसले र जुन्सुके कुबोको जोड़ीविरुद्ध खेल्नेछ। हरिहरन ए र एमआर अर्जुनको जोड़ीले चाइनीज ताइपेका चेन झि रे र लिन यू चियेहको जोड़ीविरुद्ध खेल्नेछ। महिला एकलमा उन्नति हुड्डाको सामना चाइनीज ताइपेकी चियू पिन चियानसँग हुनेछ। यसरी मालविका बन्सोड़ले पहिलो राउण्डमा थाईल्याण्डकी पोर्नपावी चोचुवोंगविरुद्ध खेल्नेछिन्। महिला युगलमा त्रिसा जली र गायत्री गोपीचन्दको जोड़ीले चाइनाज ताइपेकी हू लिंग फांग र झेंग यू चियेहको जोड़ीविरुद्ध खेल्नेछ।

About Author

Advertisement