खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरा नवदीप परिवारद्वारा बलिदान दिवसलाई लक्ष्य गरेर आयोजित कविता वाचन प्रतियोगिता म कवि, शब्दको द्वन्द्वको अन्तिम फाइनल मंगलवार बलिदान दिवसको दिन सम्पन्न भयो। यस फाइनल राउण्डमा पाँचजना प्रतियोगिहरू क्रमैले सोनिका राई, पानीघट्टा उच्चतर माध्यमिक विद्यालय, पलक प्रधान, पाइनल एकाडेमी, सौरेनी, साइना मंगर पानीघट्टा उच्चतरत माध्यमिक विद्यालय, लिक्की तामाङ, अक्स इङ्ग्लिस स्कूल, गाडीधुरा अनि अम्बिका राई, रबिन्द्रनाथ हाइ स्कूल, सौरेनी पुगेका थिए। उनीहरूमाझ सम्पन्न भएको यस कडा प्रतिस्पर्धाबाट पानीघट्टा उच्चतरत माध्यमिक विद्यालयकी छात्रा सोनिका राई प्रथम, रविन्द्रनाथ हाई स्कूलकी छात्रा अम्बिका राई दोस्रो तथा लिक्की तामाङ, अक्स इङ्ग्लिस स्कूलकी छात्रा तेस्रो भइन्। चौथौँ अनि पाँचौँ स्थान क्रमैले साइना मंगर अनि पलक प्रधानलाई प्राप्त भयो। यस प्रतियोगिताका प्रथम, दोस्रो अनि तेस्रो हुने प्रतियोगीहरूलाई स्मृति चिन्ह, ट्रफी,प्रमाणपत्र साथै नगद पुरस्कार प्रदान गरियो भने चौँथो अनि पाँचौँ हुने विद्यार्थीहरूलाई पनि स्मृति चिन्ह अनि प्रमाणपत्र प्रदान गरियो।

यस प्रतियोगितामा निर्णायकहरू डा. आशा मुखिया लामा, खरसाङ, डा. कमला तामाङ, मिरिक, सुदर्शन प्रधान, अम्बटे, खरसाङ अनि सुवास छेत्री”भावुक”, मकैबारी, खरसाङ थिए। यस अवसरमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई अतिथिहरुका बाहुलीबाट प्रमाण पत्र, ट्रफी र नगदराशि प्रदान गरिएको छ।











