खरसाङ: खरसाङ महकुमा खेलकूद संघद्वारा आयोजित ८०औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिताको बिहीवार दुईवटा सेमी फाइनल खेलहरू सम्पन्न भयो। जसमा दिनको प्रथम खेल केएफसी सिलगढी बनाम ब्रदर ११ घुम्तीमाझ सम्पन्न भयो। पहिलो खेलको समय मौसम खेलको निम्ति अनुकूल नरहेपनि दुवै दलका खेलाडीहरूलाई यसको केही असर परेन। म्याच अवधि अधिक्तर समय नै पानी परी रह्यो। पानी परेकोले मैदान हिलो भए पनि खेलाडीहरूले भने जितको लक्ष्य बोकी मैदानमा एक अर्का विरुद्ध हेर्न लाग्दो संघर्ष गरे। यस खेलमा केएफसी सिलगढीले ब्रदर ११लाई ६ -० ले पराजित गरी फाइनलमा आफ्नो स्थान पक्का गर्यो। यस खेलको म्यान अफ दि म्याच केएफसीका खेलाडी जर्सी नम्बर ११ अंकित राईलाई घोषित गरियो। दिनको दोस्रो खेलमा युकेएफसी जुनियर अनि सिलगढी युनाइटेडमाझ खेल सम्पन्न भयो। यस खेलमा सिलगढी युनाइटेड, जसमा ९/११ जीआर आर्मीका खेलाडीहरुको उपस्थिति रहेको थियो। उनीहरूलाई युकेएफसी जुनियरका युवा कलिला केटाहरूले तगडा चुनौती दिए पनि अन्तत: यो खेल सिलगढी युनाइटेडले ० को विरुद्ध ३ गोलले जित हासिल गर्दै फाइनलमा पुग्ने दोस्रो दल बने। यस खेलको म्यान अफ द म्याच सिलगढी युनाइटेडका कप्तान जर्सी नम्बर ६ सागर शाहीलाई घोषित गरियो।सागर शाहीलाई ह्याटट्रीक गरेवापत अन्तिम क्वाटर फाइनल म्याचमा पनि म्यान अफ द म्याच घोषित गरिएको थियो। यो फुटबल टुर्नामेन्ट भिक्टोरिया स्कुलको खेल मैदानमा भईरहेको छ भने यस प्रतियोगितामा जम्मा १० वटा दलहरूले भाग लिईरहेका छन् भने फाइनल खेल १५ अगस्तको दिन हुनेछ। यस प्रतियोगिताको विजेतालाई १९६९ सालमा बनाइएको शुद्ध चाँदीको ट्रफी सहित नगद २५ हजार रुपियाँ अनि उप विजेता दल लाई ट्रफी सहित १५ हजार प्रदान गरिने छ। आज को म्याच बारे यस प्रतियोगिताका संयोजक फुर्बा घिसिङ ले विस्तृत जानकारी दिएका छन्।











