गान्तोक: स्पेशियल ओलम्पिक भारतको वार्षिक सभा गत १६-१७ अक्टोबरको दिन नयाँ दिल्लीस्थित एक होटलमा सम्पन्न भयो। उक्त सभामा स्पेशियल ओलम्पिक भारत, सिक्किमका उपाध्यक्ष डा. आरबी विश्वकर्म र संयुक्त सचिव किरण ढकालले सहभागिता जनाए।
उल्लेखनीय छ, स्पेशियल ओलम्पिक भारत, सिक्किम च्याप्टरका अध्यक्ष कुबेर भण्डारीको नेतृत्वमा गत वर्ष अप्रेल-जून महिनामा पाकिम जिल्लामा विभिन्न प्रकारको बाधा अढचन हुँदाहुँदै पनि जिल्लास्तरको गतिविधि सफलतापूर्वक आयोजना गरिएको थियो। विशेष गरेर कोभिड र अक्टोबर महिनामा आएको विनाशकारी बाढले सिक्किम राज्यलाई धेरै प्रभावित तुल्याएको थियो। यस्तो अवस्थामा पनि सिक्किमले खेलकूदको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको रिपोर्ट प्रस्तुत गरेपछि राष्ट्रिय अध्यक्ष डा. मल्लिका नड्डाले प्रशंसा पत्र प्रदान गरिन्।
सिक्किमे जनताको पक्षबाट स्पेशियल ओलम्पिक भारतका अध्यक्ष मल्लिका नड्डाप्रति कृतज्ञता प्रकट गर्दै सुनौलो अनि समृद्ध सिक्किम’ विषय अन्तर्गत राज्यको ५०औं वर्षको शुभ अवसरमा सिक्किममा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने इच्छा जाहेर गरेको बताइएको छ। स्पेशियल ओलम्पिक भारत, सिक्किमले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दिव्याङ्गहरूलाई खेलकूदको क्षेत्रमा प्रोत्साहन गरेकोमा आभार व्यक्त गरेको छ। सिक्किम सरकारले विशेष ओलम्पिकमा पदक विजेता खेलाडीहरूका लागि पुरस्कार घोषणा गर्दै सूचना जारी गरेको छ। राज्य सरकारद्वारा जारी सूचना अनुसार, स्वर्ण पदक जित्ने खेलाडीले नगद ५ लाख, रजत पदक विजेतालाई ३ लाख र काँस्य पदक विजेतालाई २ लाख प्रदान गरिने घोषणा गरिएको छ।









