बार्सिलोन: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोना लगातार दोस्रोपल्ट अनि समग्रमा २९औं पल्ट च्याम्पियन बन्यो। आइतवार राति खेलिएको `एल क्लासिको’ म्याचमा चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २-०-ले पराजित गर्नको साथै बार्सिलोनाले लीग खिताब सुनिश्चित गऱ्यो। यस जीतले हेन्सी फ्लिकको टीमको निम्ति लगातार दोस्रो लीग खिताब अनि रियल म्याड्रिडको निम्ति ट्रफी शून्य सीजन सुनिश्चित गऱ्यो। ला लीगा च्याम्पियन बन्न बार्सिलोनालाई म्याचमा केवल हारबाट बाँच्नु थियो तर टीमले आफ्नो होम ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ३ चरणको खेल बाँकी रहँदै ट्रफी पक्का गऱ्यो। यस जीतको साथ बार्सिलोना ३५ वटा म्याचमा ९१ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। दोस्रो स्थानमा रहने रियल म्याड्रिडसँग बार्सिलोनाभन्दा १४ पोइण्ट्स कम्ती रहेको छ। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको निम्ति मार्कस रासफोर्डले पहिलो गोल गरे। चोटग्रस्त युवा फरवर्ड लामिन यमालको स्थानमा प्रथम एकादशमा मौका पाउने रासफोर्डले नवौं मिनटमा दर्शनीय फ्री किकबाट गोल गरे। बार्सिलोनाले आफ्नो बढ़तलाई दोब्बर पार्न पनि अधिक समय लिएन। फेरान टोरेसले १८औं मिनटमा बार्सिलोनाको निम्ति दोस्रो गोल गरे। उनले डामी ओल्मोको चतुऱ्याईंपूर्ण ब्याक हिल एसिस्टबाट गोल गरे। रियल म्याड्रिडले म्याचमा पुनरागमन गर्ने प्रयास गरे पनि सफलता हासिल गर्न सकेन। जूड बेलिंघमको दोस्रो हाफको गोललाई अफसाइडले गर्दा रद्द गरियो। यसरी विनिसियस जूनियरको प्रयासलाई बार्सिलोनाको गोलकीपर जोन गार्सियाले रोके। टीमको अभ्यास सत्रमा औरेलियन चौआमेनी र फेडेरिको भालभर्देबीच भएको झगड़ाले गर्दा रियल म्याड्रिड समस्याहरूको साथ म्याचमा ओर्लिएको थियो अनि त्यसको स्पष्ट असर टीमको प्रदर्शनमा पनि देखियो। हालै आफ्नो पितालाई गुमाए पनि हेन्सी फ्लिक टीमको निम्ति मैदानमा ओर्लिएका थिए। यसले पनि बार्सिलोनाको जीतलाई विशेष बनायो। म्याचमा बार्सिलोनाले अझ ठूलो अन्तरले जीत हासिल गर्न सक्ने थियो तर रासफोर्ड, राफिन्हा र रोबर्ट लेवाण्डोस्कीले नजिकको मौकाहरू गुमाए। यसरी भेलेन्सियाले उमर सादिकको गोलको सहायताले एथलेटिक क्लबलाई १-०-ले पराजित गऱ्यो। सादिकले ७२औं मिनटमा गोल गरे। एथलेटिक क्लब ४४ पोइण्ट्सको साथ नवौं र भेलेन्सिया ४२ पोइण्ट्सको साथ १२औं स्थानमा रहेको छ। यसरी मालोर्का र भिल्लारियलबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। रियल ओविएदो र गेटाफेबीच म्याच पनि गोलरहित ड्र (०-०)-मा समाप्त भयो।










