नयाँ दिल्ली: मध्यपूर्वमा जारी तनावबीच ईरानले स्ट्रेट ऑफ होर्मुजबाट सुरक्षित रूपमा जहाज पार गराउन ठूलो रकम असुलिरहेको आरोप लागेको छ। एक रिपोर्टअनुसार एक तेल ट्यांकर कम्पनीले सुरक्षित मार्गका लागि करिब २० लाख डलर तिरेको बताइएको छ।
रिपोर्टका अनुसार ईरानले सीमित जहाजहरूलाई मात्र उक्त रणनीतिक जलमार्ग प्रयोग गर्न अनुमति दिइरहेको छ। यसलाई इरानले आफ्नो नियन्त्रण स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।
समुद्री तथ्यांकअनुसार पछिल्ला दिनहरूमा भारत, पाकिस्तान र ग्रीसका जहाजहरू समेत वैकल्पिक मार्ग प्रयोग गर्दै उक्त क्षेत्र पार गरिरहेका छन्।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण यस मार्गबाट हुने जहाज आवागमनमा ठूलो गिरावट आएको छ। पहिले विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुने गरेकामा अहिले लगभग ठप्प भएको छ।
यसको प्रभाव विश्व बजारमा पनि देखिएको छ। तेलको मूल्य बढेर प्रति ब्यारेल करिब ११९ डलरसम्म पुगेको छ भने युरोपमा ग्यासको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
विश्लेषकहरूका अनुसार इरानले आफ्ना व्यापारिक साझेदार देशहरूका जहाजलाई प्राथमिकता दिँदै अमेरिका र इजरायल माथि दबाब सिर्जना गर्ने रणनीति अपनाइरहेको छ।









