सोरेङः सोरेङ जिल्ला ओलम्पिक एसोसिएशन गठन गरिएको छ। जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आज आयोजित एक समन्वय बैठकमा संघ गठन गरिएको हो। यस अवसरमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा मुख्य अतिथि तथा जिल्ला अध्यक्ष तिलादेवी गुरूङ विशिष्ट अतिथि थिए। सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले यस अघि गेजिङ ओलम्पिक एसोसिएशन गठन गरिएको जानकारी गराए। संघले तृणमूल स्तरमा प्रतिभा खोज आयोजन गर्ने निर्णय लिएको उनले बताए। उनले ग्रामीण स्तरमा खेलाड़ीहरू जन्माउनु पर्छ भन्दै संघको लक्ष्य अनि उद्देश्य पनि यही रहेको बताए।
संघका महासचिव जसलाल प्रधानले ओलम्पिक गेम्सको इतिहास र महत्वमाथि प्रकाश पारे। उनले आगामी १२ देखि १८ जूनसम्म राजधानीको पाल्जोर स्टेडियममा छैटौं यूथ मेन्स नेशनल बक्सिङ च्याम्पियनशीप आयोजन गरिने जानकारी गराए। लोब्जाङ लामालाई सोरेङ जिल्ला ओलम्पिक एसोसिएशनको अध्यक्ष चयन गरियो। यसैगरी, एबी सुब्बा र बिनिता मंगरलाई उपाध्यक्ष, दिलीप शर्मालाई महासचिव, पारोहाङ सब्बा र प्रमोता गुरूङलाई संयुक्त सचिव, नवराज शर्मा र सुमन छेत्रीलाई कोषाध्यक्ष तथा सरोज गुरूङलाई प्रचार सचिव चयन गरिएको छ। सोरेङका विधायक आदित्य गोलेलाई संघका प्रमुख संरक्षक बनाइएको छ।










