सिलगढी: एउटै परिवारका पाँच दाजुभाइद्वारा लिखित संयुक्त साहित्यिक पुस्तक “एकता” आइतबार सिलगढीमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उक्त पुस्तक ‘एकता प्रकाशन’द्वारा प्रकाशित गरिएको हो।
यस पुस्तकमा चर्चित साहित्यकार पी. एल. शर्मा, के. पी. शर्मा, जी. के. शर्मा, अरुण शर्मा तथा सी. पी. शर्मा का रचनाहरू समावेश रहेका छन्। एउटै परिवारका सदस्यहरूद्वारा गरिएको यस्तो साहित्यिक सहकार्यलाई दुर्लभ मानिएको छ।
पुस्तक लोकार्पण कार्यक्रममा विधायक आदित्य गोले प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
‘एकता प्रकाशन’ पश्चिम सिक्किमको सोरेङ जिल्लास्थित नयाँ स्थापित प्रकाशन संस्था हो। प्रकाशकहरूले आगामी दिनमा पनि क्षेत्रीय साहित्य तथा सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्न थप पुस्तकहरू प्रकाशन गर्ने योजना रहेको बताएका छन्।
यसै वर्ष प्रकाशन संस्थाले आफ्ना अभिभावकको स्मृतिमा ‘केदार–थालरूपा स्मृति पुरस्कार’को पनि घोषणा गरेको छ। यो पुरस्कार प्रत्येक वर्ष सिक्किमका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नागरिकलाई प्रदान गरिने जनाइएको छ।










