नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आयोजित सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस र नेपालको भीनस एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। सोरेंग फूटबल ग्राउण्डमा शनिवार खेलिएको पहिलो म्याचमा दार्जीलिङ पुलिसले छेग्रा एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल सिद्धान्त छेत्रीले गरे। यसरी नै दोस्रो म्याचमा भीनस एफसी-ले लम्बंग युथ क्लब (एलवाईसी)-लाई ४-०-ले पिट्यो। विजेता टीमबाट सुशन खड़का, अयुष छेत्री, दिवस घले र निशान राईले गोल गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा हुनेछ। फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









