नयाँ दिल्ली: भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेता तथा राज्यसभा सांसद सोनिया गान्धीको आत्मकथात्मक संस्मरण पुस्तक ‘बिलोङ्गिङ: अ जर्नी अफ लभ’ आगामी १० नोभेम्बर २०२६ मा प्रकाशित हुने भएको छ। प्रकाशन संस्था ‘अल्फ्रेड ए. नोफ’ले सोनिया गान्धीका जीवन र राजनीतिक यात्राका विविध पक्ष समेटिएको उक्त पुस्तक सार्वजनिक गर्न लागेको हो।७९ वर्षीया सोनिया गान्धीका अनुसार उनका परिवारबारे धेरै लेखिए पनि उनीहरूका निर्णय, प्रेरणा र मानवीय पक्षबारे कमै मात्र चर्चा भएको छ। यो पुस्तक परिवारको मानवीय संवेदनाका साथै विगत छ दशकमा भारतमा भएका सामाजिक तथा राजनीतिक परिवर्तनलाई उनको दृष्टिकोणबाट बुझ्ने माध्यम बन्नेछ।पुस्तकको कथावस्तु सन् १९६५ मा क्याम्ब्रिजमा राजीव गान्धीसँग भएको पहिलो भेट र उनीहरूबीचको प्रेम प्रसङ्गबाट सुरु हुन्छ। त्यसपछि उनको भारत आगमन, इन्दिरा गान्धीसँगको सम्बन्ध, नेपाली तथा भारतीय संस्कृति र भाषा अङ्गीकार गर्दाका अनुभवहरूका साथै प्रधानमन्त्री निवासमा बिताएका पलहरूलाई पुस्तकमा समेटिएको छ।इन्दिरा गान्धी र राजीव गान्धीको हत्यापछिको सङ्कटपूर्ण अवस्था, सोनियाको सक्रिय राजनीतिमा प्रवेश र कांग्रेसको इतिहासमा सबैभन्दा लामो समय अध्यक्ष बनेको अनुभवलाई पनि पुस्तकमा प्राथमिकता दिइएको छ। यसका साथै सन् २००४ को लोकसभा निर्वाचन जितेपछि पनि प्रधानमन्त्री पद अस्वीकार गर्ने उनको चर्चित निर्णयको प्रसङ्गलाई पनि पुस्तकमा स्पष्ट पारिएको छ। प्रेम, परिवार, पहिचान, कर्तव्य र भारतलाई आफ्नो घर बनाउने सिङ्गो यात्रालाई यस संस्मरणमा मुख्य विषय बनाइएको छ।









