पद्धति विषयक दश दिने कार्यशालाको शुआरम्भ
सोनादा: सोनादा डिग्री कलेजको राजनीति विज्ञान विभागको आयोजनामा अनि कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन प्रकोष्ट( आईक्युएसी) अनि रमेश बन्धु प्रकाशन सोनादाको सहकार्यमा सामाजिक विज्ञानमा शोध विधि-पद्धति विषयमा दश दिवसीय कार्यशाला आज कलेजको प्रेक्षागृहमा कलेजका शिक्षक प्रभारी डा.रागिनी थापाको अध्यक्षतामा सम्पन्न भयो। कार्यशालाको उदघाटन सत्रमा स्रोत वक्ता तथा विषय विशेषज्ञको रुपमा डा.पदम नेपाल (सन्त जोसेफ कलेज, दार्जीलिङ), डा रमेश दुराल (उत्तर बङ्ग विश्वविद्यालय) र डा इसा तिर्की (उत्तर बङ्ग विश्वविद्यालय) उपस्थित थिए। उक्त स्रोत वक्ताहरूले समाज विज्ञानका क्षेत्रमा रहेका शोधका विविध पक्ष, विभिन्न प्रकारका शोध विधि- पद्धति र प्रक्रियाहरू अनि शोधका सैद्धान्तिक पक्ष बारेमा सविस्तार जानकारी दिँदै शोधार्थीहरूले शोध प्रबन्ध तयार गर्दा अप्नाइनुपर्ने सावधानी, नियम आदि बारेमा जनाएका थिए। प्रा. लाडेन शेर्पाद्वारा सञ्चालित दश दिवसीय कार्यशालाको आज उदघाटन सत्रमा कलेजका शिक्षक प्रभारी डा रागिनी थापाले स्वागत वक्तव्य, आन्तरिक गुणवत्ता एवम् मूल्याङ्कन प्रकोष्टका संयोजिका प्रा.पेञ्चुला भोटियाले कार्यशालाको परिचयात्मक मन्तव्य, राजनीति विज्ञान विभागकी प्रमुख प्रा.सुशिला बराईलीले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यशालाका संयोजक डा.कोमल कौशिक बरालले दश दिवसीय कार्यशालाको विस्तृत जानकारी दिँदै कार्यक्रमको दोस्रो दिनदेखि नवौं दिनसम्म यो कार्यशाला गुगल मिटको माध्यमद्वारा अनलाइन पद्धतिमा प्रत्येक दिन बेलुकी पाँच बजीदेखि आठ बजेसम्म सम्पन्न हुने कुरो बताउँदै आजको उदघाटन सत्र झैँ अन्तिम दशौं दिनको समापन सत्र पनि कलेजकै प्रेक्षागृहमा सम्पन्न हुने कुरोको जानकारी दिएका थिए। विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थी, शोधार्थी तथा शिक्षक- शिक्षिकाले धेरै संख्यामा पञ्जीकरण गरेको उक्त दश दिवसीय कार्यशालाका विभिन्न सत्रहरूमा प्रोफेसर मनीष (गुजरात केन्द्रीय विश्वविद्यालय), प्रोफेसर सेबास्टियन एन( जमिलमिल्ला इस्लामिया विश्वविद्यालय, नयाँ दिल्ली), डा.न्युटन सिंह (सिक्किम विश्वविद्यालय), डा.अनन्त गुरुङ(जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली), डा.शारदा राई (रुद्रम डाइनामिक फाउण्डेशन, गुजरात), डा.अनमोल मुखिया( मणिपाल विश्वविद्यालय, सिक्किम), डा.टेकेन्द्रकुमार छेत्री (सिक्किम विश्वविद्यालय), प्रा.रवीन्द्रमणि प्रधान( सिद्धेश्वरी महाविद्यालय, कलकत्ता) प्रवीण छेत्री, शोधार्थी, सिक्किम विश्वविद्यालय रहेका छन् भने असम, सिक्किम, त्रिपुराका विभिन्न कलेज र विश्वविद्यालयका प्राध्यापक- प्राध्यापिका र शोधार्थीहरूले आ- आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। आजको उदघाटन सत्रमा सोनामुखी कलेेजकी प्रा.द्यााङजी शेेेेर्पाले प्रत्येक कार्यपत्रको प्रश्नोतर सत्रमा सक्रिय रुपमा भाग लिएकी थिईन्।











