सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

IMG-20250913-WA0171

नानीहरुको लागि यो मञ्च एकदमै उत्तम रहेको छ: आर. बी. राई

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता २०२५ सम्पन्न भएको छ। रंगबुल उच्चतर माध्यमिक विद्यालय भवनमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व शिक्षक, पूर्व सांसद एंव भाषा संग्रामी आरबी राई उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, दार्जिलिङ महकुमाका महकुमा अधिकारी रिचार्ड लेप्चा, जीटीएको कार्यकारी निर्देशक सामदेन डुक्पा, अवकाशप्राप्त शिक्षकहरु, एसआई, एएसआई, पञ्चायत प्रधान, पञ्चायत समिति सदस्यहरु लगायत शिक्षक शिक्षिकाहरु र अभिभावकहरु उपस्थित रहेका थिए। गत ४ सेप्टेम्बर गोरुबथानबाट शुरु भएको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता बुधबार मिरिक, बिहीबार खरसाङ र शुक्रबार रङ्ली रङ्लियट खण्डमा र शनिबार सोनादामा सम्पन्न भएको छ भने फाइनल आगामी १४ नोभेम्बरमा सुकनामा आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्ज्वलनसहित राष्ट्रिय गान गाएर शुरु गरिएको थियो। यस प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगितालाई शिक्षक सागर तामाङ र सुरेन छेत्रीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण सोनादाका एसआईले राखेका थिए। यस प्रतियोगितामा क्विज मास्टरको रुपमा विवेक दाहाल रहेका थिए। यसै कार्यक्रममा सोनादा क्षेत्रका अवकाशप्राप्त शिक्षकहरुलाई सम्मान जनाइएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पूर्व सांसद एंव भाषा संग्रामी आरबी राईले आफ्नो सम्बोधनमा जीटीएले नानीहरुको शिक्षाको लागि यो राम्रो पहल गरेको छ भनी बताउँदै प्राथमिक शिक्षा व्यवस्थालाई सुदृढ गर्नलाई पढाईबाहेक पनि यस्ता क्रियाकलापहरु र प्रतियोगिता आयोजना गरेर राम्रो काम गरेको छ अनि यसको लागि जीटीए प्रमुख अनित थापा र जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले नानीहरुले जति पढे पनि यसरी नै आउट नलेज राख्नु पनि आवश्यक हुन्छ भन्दै नानीहरुको लागि यो मञ्च एकदमै उत्तम रहेको बताएका छन्‌। उनले मानिस जति नै ज्ञानी भए पनि ज्ञान लिन छोड्नु हुँदैन अनि जति नै ज्ञानी भए पनि संस्कार सिक्नुपर्छ र अरुलाई सम्मान गर्नु सक्नुपर्छ भनी बताएका छन्।‌ पूर्व सांसद एंव भाषा संग्रामी आरबी राईले जीटीएले संगीतको लागि जीटीए आईडल गरेर राम्रो काम गरेको छ भने अब साहित्यको क्षेत्रमा कवि र नाट्य क्षेत्रको लागि नाटककारहरुलाई पनि मञ्च दिनु पर्ने सुझाव जीटीएलाई दिएका छन्।

कार्यक्रममा दार्जिलिङ महकुमा अधिकारी रिचार्ड लेप्चाले आफ्नो सम्बोधनमा नानीहरुको लागि यो मञ्च एकदम राम्रो रहेको बताउँदै जीटीएको शिक्षा विभागलाई धन्यवाद दिएका छन्। उनले जीटीए क्षेत्रमा प्राथमिक शिक्षाको स्तर यसरी नै सुधार भएर जाने आशा व्यक्त गरे। प्रतियोगितामा विद्यार्थी नानीहरुले राम्रो प्रदर्शन गरेको पनि बताए।‌ कार्यक्रममा विशिष्ट अतिथि जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान, जीटीएको कार्यकारी निर्देशक सामदेन डुक्पाले पनि वक्तव्य राखेका थिए।

About Author

Advertisement