सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक पत्रिका ज्ञानदीपको पाँचौँ अङ्कको विधिवत लोकार्पण विद्यालय परिसरमा सम्पन्न भयो।सन् १९९३ देखि प्रकाशन शुरू भएको ज्ञानदीप पत्रिकाको २०२० देखि भने निरन्तर प्रकाशन भइरहेको छ भने उक्त पत्रिकाको पाँचौं अङ्कको लोकार्पण विद्यालय प्रभारी दीपेन्द्र मुखिया, प्रमुख अतिथि वरिष्ठ कवि सूर्य श्रेष्ठ, विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा मेघनाथ छेत्री, सन्त जेभियर्स उच्चत्तर विद्यालय दिलारामका प्रधान अध्यापक अनिल शर्मा, पूर्व शिक्षक भगवान बम्जन, पत्रिकाका प्रमुख सल्लाहकार कुमुद सुन्दास, प्रधान सम्पादक नरेश कटुवाल तथा नविनम थापाको बाहुलीबाट गरियो।विद्यालयले त्रैमासिक रूपमा प्रकाशित गर्ने खुड्किलो भित्ते पत्रिकामा वर्ष भरि प्रकाशित भएका विद्यार्थीहरूका विविध रचना, विद्यालयको विभागीय रिपोर्ट र अन्य साहित्यिक रचनाहरू समावेश गरेर तयार पारिएको यस वर्षको पत्रिकामा विशेष विद्यार्थीहरूको सृजनाहरूलाई महत्व दिएको प्रधान अध्यापक दीपेन्द्र मुखियाले बताएका छन्। प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ कवि सूर्य श्रेष्ठले विगत धेरै वर्षदेखि सोनादा उच्चत्तर माध्यमिक विद्यालयले अध्ययन अध्यापनबाहेक पनि अन्यान्य विषयमा पनि निक्कै सुखद पूर्ण कार्य गरिरहेको बताए। यस विद्यालयको आफू केही वर्ष पूर्व शिक्षक रहेकोले यस विद्यालयसित आत्मीयता रहेको बताउँदै विद्यालयका वर्तमान शिक्षक शिक्षिकाहरूको सक्रियता अनि लगनले सोनादा क्षेत्रकै नाम रोशन पारेको बताए।पत्रिकाका प्रधान सम्पादक नरेश कटुवाल तथा नविनम थापाद्वारा सञ्चालित लोकार्पण समारोहमा विद्यार्थीहरूले स्वरचित कविता वाचन साथै लोक नृत्यहरू प्रस्तुत गरेका थिए। विद्यालयलाई हरेक कार्यक्रमहरूमा सहयोग तथा सहकार्य गर्ने अमर ज्योति प्रगति समाज, अप्पर जोन्सन हट्टालाई विद्यालयद्वारा सम्वर्द्धना अर्पण गरियो। समारोहलाई सम्बोधन गर्दै प्रधान अध्यापक दीपेन्द्र मुखियाले विद्यालयले वर्षभरि शैक्षिक कार्यक्रमसितै खेलकूद, संगीत, कला साहित्य, तक्निकी आदि क्षेत्रमा पनि अग्रसर रहेको बताउँदै ज्ञानदीप पत्रिकाले तिनै गतिविधिहरूलाई रेखाङ्कित गरेको अनि विद्यार्थीहरूको सृजनाहरूलाई प्रकाशित गर्ने लक्ष्य राखेको बताए। उनले विद्यालयका हरेक कार्यक्रमहरूमा तनमनले सहभागिता जनाउने सम्पूर्ण शिक्षक शिक्षिकाहरू धन्यवाद तथा बधाईका पात्र रहेको बताए।कार्यक्रममा साहित्यकार नरेन्द्र लामा, सुधा राई, अप्पर सोनादा ग्राम पञ्चायत प्रधान दावा तामाङ, पूर्व शिक्षिका रेभारानी लकान्द्री, प्रकाशक रसिक छेत्री, प्रा विशाल थापा, विद्यालयका शिक्षक शिक्षकाहरू आदि विशेष रूपले उपस्थित थिए। आगामी वर्ष सोनादा उच्चत्तर माध्यमिक विद्यालयले स्थापनाको स्वर्ण जयन्ती मनाउन लागिरहेको हुनाले अबको छैठौं अङ्क स्वर्ण जयन्ती विशेाङ्क प्रकाशित हुने बताउँदै आगामी कार्यक्रमलाई सबैले सहयोग गरिदिने अपिल सम्पादक एंव सह शिक्षक नरेश कटुवालले बताएका छन्।










