सेमिफाइनलमा हारेर अमेरिकी ओपनबाट बाहिर भए लक्ष्य सेन

IMG-20230716-WA0182.jpg

१६ जुलाईः भारतका स्टार खेलाड़ी लक्ष्य सेन अमेरिकी ओपन ब्याडमिण्टन टुर्नामेण्टको पुरुष एकल सेमिफाइनलमा चीनका ली शी फेंग विरुद्ध पराजयको सम्मुखीन भए। कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता तथा टुर्नामेण्टमा तेस्रो वरीयता प्राप्त लक्ष्यलाई अल ईंग्ल्याण्ड च्याम्पियन तथा दोस्रो वरीयता प्राप्त फेंगले संघर्षपूर्ण म्याचमा १७-२१, २४-२२, १७-२१-ले पराजित गरे। शनिवार राति खेलिएको बीडब्ल्यूएफ सुपर ३०० टुर्नामेण्टको यो म्याच एक घण्टा १६ मिनटसम्म चल्यो। विश्वका सातौं नम्बरका खेलाड़ी फेंग र १२औं नम्बरका खेलाड़ी लक्ष्यबीच यो म्याच निक्कै रोमाञ्चक रह्यो। म्याचको शुरुवाती गेममा एक समय स्कोर १७-१७-को बराबरीमा रहेको थियो। त्यसपछि भारतीय शट्लरले केही गल्ती गर्दा फेंगले आक्रामक खेल देखाउँदै पहिलो सेट जिते। विश्व च्याम्पियनशीपमा काँस्य पदक विजेता लक्ष्यले दोस्रो गेममा असल प्रदर्शन गरे। पहिलो गेम झैं दोस्रो गेममा पनि शुरुदेखि नै रोमाञ्चक खेल भयो। दुवै खेलाड़ीले लामो-लामो ऱ्याली खेले अनि एक समय स्कोर २२-२२-को बराबरीमा रहेको थियो। त्यसपछि लक्ष्यले लगातार दुई पोइण्ट्सको साथ गेम जितेर म्याचलाई बराबरीमा पुऱ्याए। तेस्रो तथा निर्णायक गेम पहिलो गेमको पुनरावृति थियो। फेंगले शुरुवातमा बढ़त हासिल गरे अनि इण्टरवलसम्म ११-८-ले अघि रहेका थिए। लक्ष्यले पनि हार मानेनन् अनि १७ पोइण्ट्ससम्म आफूलाई खेलमा कायम राखे। त्यसपछि चाहिँ चीनका खेलाड़ीले दबाउ बनाएर गेमको साथमा म्याच जिते। लक्ष्यको फेंग विरुद्ध जीत-हारको रेकर्ड ५-२-को रहेको छ। उनले गत हप्ता कनाडा ओपनमा चीनका खेलाड़ीलाई २१-१८, २२-२०-ले पराजित गरेर आफ्नो दोस्रो बीडब्ल्यूएफ सुपर ५०० खिताब जितेका थिए।

About Author

Advertisement