खरसाङ: सूर्य फाउण्डेशनको तत्वावधानमा बाघमारा बाल संस्कार केन्द्रको आयोजनामा दश दिवसीय ग्रामीण व्यक्तित्व शिविरको समापन गरियो। उक्त समापन समारोहमा प्रमुख अतिथिको रूपमा स्थानीय समाजसेवी तथा भूतपूर्व सैनिक दुर्गाप्रसाद तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा सूर्य फाउण्डेशनको जोन उप- प्रमुख बिनोदकुमार महतो उपस्थित रहेका थिए। क्षेत्र प्रमुख मणिकमल दाहालले सञ्चालन गरेको यस कार्यक्रमलाई योगेन्द्र छेत्रीको पक्षबाट स्वागत सम्भाषण राखिएको थियो। कार्यक्रममा नानीहरूद्वारा नृत्य, देशभक्ति गीत, दौड़ आदि प्रस्तुत गरिएको थियो। स्मरण रहोस् सूर्य फाउण्डेशनको आयोजनामा प्रत्येक वर्ष नानीहरूको मानसिक एवं शारीरिक विकासको निम्ति ग्रामीण व्यक्तित्व विकास शिविरको आयोजना गर्ने गर्दछ।

यस दश दिवसीय ग्रामीण व्यक्तित्व शिविरको दौरान उत्कृष्ट ५ जना नानीहरूलाई छनौट गरेर पुरस्कार वितरण गरिएको छ। यस समापन समारोहमा स्थानीय मानिसहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रममा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै योगेन्द्र छेत्री र मणिकमल दाहालले विस्तृत रुपमा जानकारी गराएका छन्।









