काहिरा: सूडानको उत्तर डारफुर क्षेत्रस्थित एक दिवानी अदालत परिसरमा सेनाले गरेको ड्रोन आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ। सूडानमा मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन गरिरहेको स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार उत्तरी डारफुरको अल-जविया गारा गाउँमा रहेको अदालतको मुख्यालयलाई लक्षित गरी सेनाले उक्त आक्रमण गरेको हो। उक्त अदालतले सर्वसाधारणलाई महत्त्वपूर्ण न्यायिक र सामाजिक सेवा प्रदान गर्दै आएको थियो।
‘इमर्जेन्सी लयर्स’ले यस घटनाको निष्पक्ष छानबिनको माग गर्दै आम नागरिक र गैर-सैन्य संरचनामाथि आक्रमण हुनु अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको बताएको छ। सूडानमा अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेज’ (आरएसएफ) र सूडानी सेनाबिच अप्रिल २०२३ देखि सुरु भएको द्वन्द्वले भीषण युद्धको रूप लिएको छ। ‘आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा’का अनुसार यस द्वन्द्वमा हालसम्म कम्तीमा ५९,००० मानिसले ज्यान गुमाइसकेका छन्।










