खरसाङ: खरसाङ एकीकृत शिशु विकास परियोजना अन्तर्गत घैयाबारी ग्राम पञ्चायत २ को सबै आँगनवाडी कर्मीहरूलाई लिएर सुपोषण कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत २ अन्तर्गत तीनधारे क्षेत्रको सबै आँगनवाडी कर्मीहरू, नानीहरूका अभिभावकहरू, स्वास्थ्यकर्मीहरू लगायत घैयाबारी ग्राम पञ्चायत दुईको सुपरभाइजर छिरिङ याङ्की भोटिया पनि उपस्थित रहेका थिए। यसै अवसरमा आशाकर्मीहरूद्वारा सुपोषण विषयमा तीनधारेको ब्लु डाईमण्ड स्कूलदेखि रेलवे स्टेशनसम्म एक सचेतना रैली पनि निकालिएको थियो। उक्त रैलीको अघि सुपरभाइजर छिरिङ याङ्की भोटियाले सुपोषण विषयमा सचेतना गराउँदै कुपोषण घटाउन आमाहरूलाई पौष्टिक आहार खानु पर्ने बताइन्।

त्यसरी नै तीनधारेको राजबारी स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मी संगीता राईले पनि पौष्टिक आहार विषयमा उपस्थित आमाहरूलाई सचेतना गराएकी थिइन्। त्यसपछि सुपोषण विषयमा सचेतना गराउँदै घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने तीनधारे क्षेत्रमा सबै आँगनवाडी कर्मीहरू, सहकर्मीहरू, आशाकर्मीहरू ,स्वस्थ्यकर्मीहरू र नानीहरूका आनाहरूद्वारा रैली निकालिएको घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत चुनभट्टी केन्द्रका आँगनबाड़ी कर्मी रोमा थपाले जानकारी गराएकी छन्।









