मालदा: सुन व्यवसायीहरूकहाँ दिनहुँ हुने चोरी–डकैती रोक्न मालदा जिल्ला पुलिसले विशेष पहल थालेको छ। यस अन्तर्गत सुन व्यवसायीहरुको पसलमा चोर र डाँकुलाई सजिलै समात्ने उपकरण जडान गर्न लागेको छ। सुन पसलमा चोरी वा डकैती हुन नदिन जिल्ला पुलिसले विशेष उपकरण जडान गर्न लागेको र सो विषयमा जिल्लाको मालदा शहरको रथबारी क्षेत्रस्थित व्यापार भवनमा पुलिस प्रशासन र सुन व्यवसायीबीच छलफल भएको थियो। अतिरिक्त पुलिस अधीक्षक सम्भाव जैन, डीएसपी पंकज तामाङ, इंगलिस बजार पुलिस स्टेशन आईसी सञ्जय घोष, मालदा मर्चेन्ट्स चेम्बर अफ कमर्सका अध्यक्ष जयंत कुण्डु, उपाध्यक्ष कमलेश बिहानी, बेङ्गाल गोल्ड आर्टिस्ट एण्ड गोल्ड ट्रेडर्स एसोसिएसनका अध्यक्ष मदन गुप्ता, सचिव उज्ज्वल सरकार र अन्य व्यापारीहरू उपस्थित थिए। पछिल्लो केही महिनादेखि मालदा जिल्लाका विभिन्न ठाउँमा सुन पसलमा चोरी र डकैतीका घटनाले सुन व्यापारी आतंकित छन्। विभिन्न पुलिस चौकीमा लिखित उजुरी पर्दा पनि पुलिसले चोरीका सुनचाँदीका गहना बरामद गर्न नसकेको र अपराधीलाई पनि पक्राउ गर्नसकेको छैन।
सुनका व्यापारीले चोरीको सामान फिर्ता गर्न र अपराधीलाई पक्राउ गर्न बारम्बार पुलिससमक्ष पुगेका छन्। यस पटक पुलिस अधिकारीहरूले सुन पसलमा चोरी वा डकैती हुन नदिन जिल्ला पुलिससँगको सहकार्यमा उपकरण जडान गर्नेबारे सुन व्यवसायीसँग छलफल गरेका थिए। शुरुमा सुन व्यवसायीहरू आफ्नो अघि उपकरणको डेमोको परीक्षणबाट आश्वस्त भए। -न्यूज एसिया










