सुडान र दक्षिण सुडानको सीमामा दुई समूहबीच भएको भीषण भिडन्तमा दुई शान्ति सेनाका सैनिकसहित ५२ जनाको मृत्यु भएको राष्ट्र संघले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ। यस झडपमा ६४ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, एक अबेई मन्त्रीलाई उद्धृत गर्दै दक्षिण सुडानको वारेप राज्यका हतियारधारीहरूले शनिबार छिमेकी अबेई क्षेत्रमा आक्रमण गरेको बताए। यो झगडा दुई समूह ट्विक डिन्का र न्गोक डिन्काबीच जमिनलाई लिएर भएको थियो। दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन्। सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुनसकेको छैन। उक्त क्षेत्रमा तैनाथ संयुक्त राष्ट्र संघीय सुरक्षा बल ‘युनिस्फा’ले शनिबार आफ्नो अखडामा भएको आक्रमणमा घानाका एकजना शान्ति सेनाको मृत्यु भएको जनाएको छ।











