सिलगढ़ी: हिजो आइतबार सालबारी सेवा समाज भवनमा भूतपूर्व प्रशासनिक अधिकारी एवं पोख्त लेखक सी.आर.राईकृत ‘दार्जीलिङ दी अनहिल्ड वुन्ड’ एक भव्य समारोहबिच लोकार्पण गरियो। समारोहलाई साहित्यकार डा. जीवन नामदुंगले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपस्थित थिए नेपाली साहित्यका सुपरिचित साहित्यकार नरबहादुर दाहाल। कृतिमाथि चर्चा गर्नहेतु उपस्थित थिए विशिष्ट इतिहासकार डा. सोनाम बी. वाङगेल। समारोहमा नेपाली भाषा साहित्यका विशिष्ट हस्तीहरू लगायत भाषाविद, चिन्तक, लेखक, सर्जकहरूसितै भाषा-साहित्यानुरागीहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। चर्चित उद्घोषिका अञ्जना भण्डारीद्वारा सञ्चालन गरिएको समारोहको आरम्भमा अध्यक्ष, मुख्य अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट दीप प्रज्वलन गरियो। प्रसिद्ध गायिका सोनू राईद्वारा सरस्वती भजन प्रस्तुतिले यस मुहुर्तलाई भक्तिमय र भावमय बनाइरहेको थियो। स्वागत भाषणसितै आफ्नो पुस्तकबारे कुराहरू कृतिकार सी.आर राईले राखे।
यस क्रममा उनले आफ्ना अनुभवहरू साझा गरिरहेका थिए। यस कृति लेख्दा गरिएका शोध र खोजीहरूको उनी उल्लेख गरिरहेका थिए। उनले कृतिमा लेखिएका दार्जीलिङको भौगोलिक अनि राजनैतिक तथ्यहरूको पनि केही उल्लेख गरे। भारतीय गोर्खाहरूको चिनारी र वासभूमिका प्रश्नतहरू र इतिहास साक्षी रहेका आन्दोलनका कुराहरूको पनि उनी उल्लेख गरिरहेका थिए। समारोहमा कृतिकारको उपस्थितिमा सभाध्यक्ष, मुख्य आतिथि अनि विशिष्ट अतिथिका बाहुलीबाट पुस्तक ‘दार्जीलिङ दी अनहिल्ड वुन्ड’ लोकार्पण गरियो। समारोहमा विद्वान इतिहासकार डा. सोनाम बी. वाङगेलले कृतिमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। अध्यक्षको आसनबाट बोल्दै साहित्यकार डा. जीवन नामदुंगले लोकार्पित कृतिका लेखक सी.आर.राईलाई बधाई टक्राए अनि दार्जीलिङमाथि विभिन्न लेखक र व्यक्तित्वहरूले लेखेका र पोखेका मन्तव्यहरू अघि राख्दै उनी बोलिरहेका थिए। उनले भने, ‘दार्जीलिङ अनहिल्ड होइन यसको घाउ समयसितै निको हुने कुरामा हामी आशावादी हुनुपर्छl’ उनले लेखकका महत कार्यलाई मुग्धकण्ठले प्रशंसा गरे। मुख्य अतिथि विशिष्ट साहित्यकार नरबहादुर दाहालले आफूले राजनीतिका काम गर्दाका अनुभवहरू साझा गरे। उनले भने, ‘राजनीतिलाई डर्टी गेम भनिन्छ वास्तवमा यो डर्टी गेम होइन तर यसलाई डर्टी गेम बनाइन्छ। राजनीतिमा आफ्नो पार्टीले भूल गरे पनि त्यसलाई ढाकछोप रापेर राम्रो भनेर बताइन्छ अनि विपक्षी वा अर्को पार्टीले राम्रै गरेका वा भनेका कुरा र कामलाई पनि गलत र बेठीक बनाएर प्रचार गरिन्छ। तर त्यसो गर्न ठीक कुरो होइनl सी.आर राईले एक महत्वपूर्ण कृति हामीलाई दिएका छन्। हामी सबै उनीसित धन्य हुनुपर्छl’
यस अवसरमा अवकाशप्राप्त प्रशासनिक अधिकारी गोपाल लामा अनि डा. रिञ्जी इडेन वाङदीले पनि आफ्ना कुराहरू राखेका थिए। डा. रिन्जीले लेखकलाई प्रश्नर पनि गरिन् दार्जीलिङ अनहिल्ड वुन्ड हो भने यो निकोचाहिँ कहिले हुन्छ? यस प्रश्नमा लेखकले भने यसको उत्तर तोकेर दिन सकिँदैन तर दार्जीलिङ समस्याको कुनै न कुनै समाधान अवश्य निस्कने कुरामा हामी आशावादी बन्न सकिन्छ। अन्त्यमा कृतिकारले नै सबैलाई धन्यवाद ज्ञापन गरे। उपस्थित सबैले कृतिकार सी.आर. राईलाई उनको यो महत कार्यको निम्ति बधाई टक्राए।









