सिलगढी: सिलगढीको रेगुलेटेड मार्केटबाट ट्रकमा लोड गरिएको स्याउ चोरी गरी चालक तथा सहचालकलाई हतियार देखाएर धम्क्याउने तीन जनालाई पुलिसले पक्राउ गरेको छ।
गत ७ अगस्ट २०२६ मा रेगुलेटेड मार्केटका एक थोक फलफूल व्यवसायीले प्रधाननगर थानामा लिखित उजुरी दर्ता गराएका थिए। उजुरीअनुसार ६ र ७ अगस्टको मध्यराति करिब १:३० बजे उनको दाेकनको पछाडि पार्क गरी राखिएको ट्रकबाट ३-४ जनाको समूहले स्याउका कार्टुनहरू चोरी गरेका थिए। सो क्रममा ट्रकका चालक र खलासीले विरोध गर्दा उनीहरूले धारिलो हतियार देखाएर ज्यान मार्ने धम्की दिएका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रधाननगर थानाको पुलिस टोलीले सीसीटीभी फुटेज र प्राप्त प्रमाणका आधारमा तीन जना अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा प्रधाननगर थाना क्षेत्रको ढङ्कनिकटा निवासी मिथुन रोय, गुरुङ बस्ती निवासी हर्ष पासवान र चम्पासारी अञ्चल निवासी शिवम साहनी रहेका छन्।
पुलिस हिरासतमा सोधपुछका क्रममा उनीहरूको कब्जाबाट २५३ किलोग्राम तौल भएका १३ कार्टुन स्याउ बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।











