सिलगढी: सिलगढी महानगरपालिका (एसएमसी) ले सेभोक रोडमा अवस्थित एक व्यापारिक मलमा भएको अवैध निर्माण र अनियमितताको उजुरीका आधारमा शनिबार व्यापक अनुगमन गरेको छ। महानगर आयुक्त वीर विक्रम राईको नेतृत्वमा गएको टोलीले उक्त मलमा आकस्मिक निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा मलको हिँड्ने कोरिडोर (हलमार्ग) लाई मिचेर अवैध रूपमा संरचनाहरू निर्माण गरिएको फेला परेको छ। यसका साथै मलमा सञ्चालित विभिन्न रेस्टुरेन्ट र बारहरूमा व्यापक अनियमितता फेला परेको महानगर स्रोतले जनाएको छ।
अनुगमनका क्रममा अधिकांश व्यावसायिक प्रतिष्ठानहरूसँग वैध अग्नि सुरक्षा (फायर सेफ्टी) अनुमति पत्र नभएको र कतिपयको नवीकरण म्याद सकिइसकेको पाइएको छ । यसैगरी, एउटा बारभित्र अवैध रूपमा बियर उत्पादन भइरहेको गम्भीर आरोप समेत लागेको छ। अनुगमन टोलीले आवश्यक कागजात माग गर्दा सञ्चालकहरूले अन्तःशुल्क विभागको अनुमति रहेको दाबी गरे पनि तत्काल कुनै वैध प्रमाण पेस गर्न सकेनन्। निरीक्षणकै क्रममा एउटा रेस्टुरेन्टमा म्याद गुज्रिएका (एक्सपायर्ड) खाद्य सामग्रीहरू समेत फेला परेका छन्।
महानगरपालिकाले फेला परेका अवैध संरचनाहरूलाई तत्काल भत्काउन आदेश दिएको छ। साथै, अनियमिततामा मुछिएका पसल तथा प्रतिष्ठानहरूलाई आफ्ना वैध कागजातहरू प्रमाणिकरणका लागि महानगरमा बुझाउन स्पष्टीकरणसहितको सूचना (नोटिस) जारी गरिएको छ। कागजात जाँचबुझ गरेपछि थप कानुनी कारबाही अघि बढाइने महानगर आयुक्त राईले बताएका छन्।










