५ वर्षअघि हराएको फोन पनि मालिकलाई जिम्मा
सिलगढी: भक्तिनगर थाना पुलिसले एक ठूलो सफलता हासिल गर्दै हराएका ३२ थान मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। यस अप्रेशनको एउटा रोचक पक्ष के रह्यो भने पाँच वर्षअघि हराएको एउटा मोबाइल समेत पुलिसले ट्र्याक गरेर फेला पारी वास्तविक मालिकलाई बुझाएको छ।
पुलिस स्रोतका अनुसार भक्तिनगर थानाको सादा पोसाकमा खटिएको टोलीले लामो अनुसन्धान र प्राविधिक विश्लेषणपछि यी फोनहरू बरामद गरेको हो। पाँच वर्षअघि पायल सिनेमा हल नजिकै आफ्नो मोबाइल हराएका देबेश सेन गुप्ताले त्यतिबेला भक्तिनगर थानामा लिखित उजुरी दिएका थिए। फोन माया मारिसकेका गुप्ताले पाँच वर्षपछि आफ्नो प्रिय ह्यान्डसेट फिर्ता पाउँदा खुसी व्यक्त गर्दै पुलिस टोलीलाई धन्यवाद दिए।
विगत केही महिनायता भक्तिनगर थाना क्षेत्रमा मोबाइल चोरी, खोसाखोस र हराएका थुप्रै उजुरीहरू दर्ता भएका थिए। ती उजुरीहरूमाथि कारबाही गर्दै पुलिसको विशेष टोलीले लोकेसन ट्र्याकिङ र अन्य प्राविधिक माध्यमको सहयोगमा उपकरणहरू फेला पार्न सफल भएको हो। सबै कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएका ३२ वटै मोबाइल फोनहरू सोमबार सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरिएको छ।










