गान्ताेक: उत्तर-पूर्वी पहाडी क्षेत्रका लागि भारतीय कृषि अनुसंधान परिषद(आईसीएआर) सिक्किमले ‘मेरो गाउँ मेरो गौरव’ (मेरा गाँव मेरा गौरव) र ‘खेत बचाऊ अभियान’ अन्तर्गत मङ्गन जिल्लाको दुर्गम क्षेत्र जोङ्गुस्थित लिङ्कु गाउँमा एक कृषक-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। सडक सञ्जालको कमजोर पहुँच र बजारको असुविधाका कारण खाद्य आपूर्तिमा आत्मनिर्भर रहन बाध्य यस दुर्गम गाउँका १२ जना कृषकहरू कार्यक्रममा सहभागी भएका थिए। केन्द्रका प्रमुख डा. अशोक कुमार र वरिष्ठ वैज्ञानिक डा. सौरव साहाको नेतृत्वमा भएको यस कार्यक्रममा कृषि उत्पादकत्व बढाउन, प्राकृतिक स्रोतको संरक्षण गर्न र जलवायु परिवर्तन अनुकूलनका लागि वैज्ञानिक दृष्टिकोणबारे गहन छलफल भयो।
डा. अशोक कुमारले दिगो जीविकोपार्जनका लागि एकीकृत खेती प्रणाली र जलवायु-अनुकूल कृषि प्रविधि अपनाउन जोड दिँदै कृषक र वैज्ञानिकहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्क्रियाका क्रममा वैज्ञानिकहरू डा. सौरव साहा, डा. छिरिङ ल्हामु भुटिया, डा. अमित कुमार र डा. पेम्पा एल. भुटियाले क्रमशः माटोको चिस्यान संरक्षण, उन्नत तरकारी खेती, एकीकृत पोषक तत्व व्यवस्थापन, बाली विविधीकरण तथा पहाडी कृषिका लागि कृषि-वन (एग्रोफोरेस्ट्री) को महत्त्वबारे प्राविधिक जानकारी साझा गर्नुभयो। कार्यक्रमको अन्त्यमा वैज्ञानिक टोलीले खेतीपातीको स्थलगत निरीक्षण गर्दै कृषकहरूका समस्याहरूको व्यावहारिक समाधान र निरन्तर वैज्ञानिक मार्गदर्शन दिने आश्वासन समेत प्रदान गर्यो।









