सिलगढी। आज सिलगढी नगरनिगममा मई महिनाको मासिक अधिवेसन सम्पन्न भयो। उक्त अधिवेसनमा तृणमूल काउन्सिलर रञ्जन शील शर्माले सिलगढी विधान रोडमा निर्माणाधीन विवादित बहुतले भवनविरुद्ध आवाज उठाए। गत बोर्ड मिटिङमा पनि तिनले यहीँ विषयमा आवाज उठाएका थिए। रञ्जन शील शर्माले भने, गत महिनाको अधिवेसनमा उक्त बहुतले भवनको निर्माण कार्य बन्द गरिने बताइएको थियो तर हालसम्म यसको निर्माण कार्य चलिरहेको छ।
सिलगढी नगरनिगमले उक्त बहुतले भवनविरुद्ध किन कुनै कठोर पद्धक्षेप ग्रहण गर्दैन भन्दै तिनले प्रश्न चिन्ह खडा गरे। उक्त अधिवेसनमा रञ्जन शील शर्माका विरोधीहरूले पनि तिनको मागको समर्थन गरे। अर्कोतिर, काउन्सिलरको प्रश्नको उत्तरमा मेयर गौतम देवले भने, सबै कार्यहरू नियमअनुसार गरिरहेको छ। उक्त बहुतले भवनको जाँच शुरु गरिसकेको छ। आगामी नगरनिगमको मासिक अधिवेसनमा सबै विषयमा पारदर्शिताको साथमा चर्चा गरिनेछ।









