सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत प्रधान नगर थानाको पुलिस टोलीले डाका हाल्ने योजना बनाइरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।
१८ र १९ अगस्ट २०२६ को मध्यरातमा प्राप्त विशेष सूचनाका आधारमा प्रधान नगर थाना पुलिसले गुरुङ बस्ती क्षेत्रमा छापा मारेको थियो। सम्पत्तिसम्बन्धी अपराधमा संलग्न रहँदै आएका र पटके अपराधीका रूपमा चिनिएका तीन जनालाई डाका हाल्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको पुलिसले जनाएको छ।
पक्राउ पर्नेहरूमा दार्जिलिङ जिल्लाको मिरिक, पशुपतिनगर निवासी २३ वर्षीय प्रनिल सुब्बा, दार्जिलिङकै बिजनबारी निवासी ३२ वर्षीय जोसेफ तामाङ र पूर्वी सिक्किमको लालबजार निवासी १९ वर्षीय साङ्पा तामाङ रहेका छन्।
प्रधान नगर थानामा पक्राउ परेका तीनै जनामाथि योजनाबद्ध डाकाको तयारी गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।









