युवा पुस्ताको उल्लेखनीय सहभागिताप्रति सांसद विष्टद्वारा आभार
सिलगढ़ी: दार्जीलिङका सांसद राजु विष्टले सिलगढ़ीको मिलन मोड़स्थित फुटबल मैदानमा जारी सांस्कृतिक महोत्सवको पहिलो दिनमा देखिएको जनसागर र विशेषगरी युवा पुस्ताको उत्साहजनक सहभागिताप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सांसद विष्टले गौरवशाली गोर्खा संस्कृति, परम्परा, गीत-सङ्गीत र देउसी-भैलोको मौलिक तथा जीवन्त प्रस्तुतिलाई सबैमाझ साझा गर्न पाउँदा आफूहरू अत्यन्तै हर्षित र गौरवान्वित भएको बताउनुभएको छ। महोत्सवको पहिलो दिन हजारौं दर्शकको उपस्थितिले कार्यक्रमलाई भव्य र सफल बनाएको उल्लेख गर्दै उहाँले सम्पूर्ण दर्शकवृन्दप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नुभएको छ।

सांसद विष्टले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्ने मुख्य उद्देश्य युवाहरूको उल्लेखनीय सहभागिताले सार्थक बनाएको बताउनुभएको छ। युवाहरूमा देखिएको यो उत्साह र आफ्नोपनप्रतिको भावनाले गोर्खा जातिको सांस्कृतिक भविष्यप्रति नयाँ आशा र विश्वास जगाएको उहाँको भनाइ छ।

महोत्सवको उल्लास र उत्सवलाई आज पनि निरन्तरता दिइने जानकारी दिँदै सांसद विष्टले आज साँझ ४ बजेदेखि मिलन मोड़स्थित फुटबल मैदानमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ। उहाँले सबैलाई एकपटक फेरि सँगै भेला भएर आफ्नो संस्कृति, परम्परा र गौरवको उत्सव मनाउन आह्वान समेत गर्नुभएको छ।





