सिटोङको शेल्पुस्थित पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयमा कविता वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न

IMG-20240703-WA0228

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको शेल्पुस्थित पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयमा अन्तर हाउस कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता साथै साहित्यिक कार्यक्रममा सभाध्यक्षको रूपमा विद्यालयकै शिक्षक प्रभारी इन्द्रबहादुर गुरुङ अनि प्रमुख अतिथिको रुपमा कथाकार, गीतकार सञ्जीव छेत्री उपस्थित रहेका थिए। शिक्षक दशरथ थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण नवौं श्रेणीकी विद्यार्थी श्रेयश्री थापाले राखेकी थिइन्। यस क्रममा संस्कार राई र अनिकेत राईवे अंग्रेजी कविता वाचन गरेका थिए। सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा विद्यार्थीहरूले सामुहिक अंग्रेजी कविताहरू वाचन गरेका थिए। उक्त कविता वाचन प्रतियोगितामा निर्णायकको रुपमा शिक्षक विष्णु थापा, शिक्षिका प्रवीन्ता भुजेल र अतिथि निर्णायकको रूपमा कवि एंव पत्रकार हनोक थापा उपस्थित रहेका थिए। अन्तर हाउस प्रतियोगिता अन्तर्गत जम्मा १२ जना विद्यार्थीहरूले कविता वाचन गरेका गरेका थिए जसमा दुईजनाले स्वरचित कविता वाचन पनि गरेका थिए। उक्त अन्तर हाउस कविता वाचन प्रतियोगितामा प्रथम पाँचौं श्रेणीकी विद्यार्थी रञ्जिना छेत्री, दोस्रो बाह्रौं श्रेणीकी विद्यार्थी रिया बागदास र तेस्रो एघारौं श्रेणीकी विद्यार्थी निकुञ्ज छेत्री भइन्। कार्यक्रममा प्रमुख, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई अतिथिहरूको बाहुलीबाट खदार्पणसहित उपहार प्रदान गरिएको छ। कार्यक्रममा कवि हनोक थापाले पनि कविता वाचन गरेका थिए। यस क्रममा उनले विद्यार्थीहरूलाई कविता लेखन विषयमा आफ्नो अनुभवहरू र सुझावहरू पनि राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन शिक्षिका प्रशान्ति थापाले राखेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधनमा स्रष्टा सञ्जीव छेत्रीले नानीहरूले आफ्नो अभिव्यक्ति व्यक्त गर्न कोशिष गर्नुपर्छ अनि कविता लेख्दा कानसम्म पुग्ने मात्र होइन तर मनलाई छुने हुनुपर्छ भनी बताएका छन्। उनले विद्यार्थी नानीहरूलाई कविता लेखन र साहित्यमा अघि बढ्नलाई धेरै सुझावहरू राखेका थिए। त्यसरी नै सभाध्यक्षको रूपमा विद्यालयकै सह शिक्षक प्रभारी आईबी गुरूङले उपस्थित अतिथिहरूलाई धन्यवाद दिन्दै विद्यालयमा आयोजित साहित्यिक अनि अन्तर हाउस प्रतियोगिता कविता वाचन कार्यक्रम असल प्रकारले सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।

उनले आफ्नो सम्बोधनमा सिटोङ क्षेत्रको साहित्यिक गतिविधि र यसको शुरुवात साथै साहित्यिक यात्रामा रहेका स्रष्टाहरू र कृतिहरू विषयमा जानकारी गराएका छन्।कार्यक्रममा कवि उज्ज्वल सेवा, पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयको शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू पनि उपस्थित रहेका थिए। सन् १९७० मा स्थापित सिटोङको शेल्पुस्थित पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई किताबी पढाईसितै विभिन्न साहित्यिक, सांस्कृतिक, सांगीतिक, खेलकूद आदि क्षेत्रमा पनि अघि बढ़ाउन लगातार रूपमा कार्य गरिरहेका छन् भने विद्यार्थीहरूको सर्वाङ्गीन विकासमा धेरै ध्यान दिईरहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement