सिङ्ताम भानु उद्यानमा २०९ औं भानु जयन्ती पालन

IMG-20230713-WA0357.jpg

सिङ्ताम। सिङ्ताम भानु उद्यानमा भानु जयन्ती समारोह समिति सिङ्तामद्वारा आज भव्यरुपमा आयोजित गरियो। यस अवसरमा मुख्यमन्त्रीका धार्मिक सल्लाहकार रोहित राज महाराज मुख्य अतिथिको रुपमा उपस्थित थिए तथा सभाशिरोमणिको रुपमा गायक-संगीतकार देवकुमार दुमी अनि विशिष्ट अतिथिमा उदय गोले एंव अभिनेता उत्तम प्रधानको उपस्थिति रहेको थियो। आयोजक समितिका महासचिव मोहन प्रधान नीरज र कार्यक्रम समन्वयक सुन्दर राईद्वारा संयुक्तरुपमा सञ्चालित कार्यक्रमलाई अध्यक्ष श्याम कुमार राईले स्वागत जनाए तथा उपाध्यक्ष सोमनाथ पाण्डेले भानु जयन्तीको औचित्यबारे प्रकाश पारे। दीप प्रज्जवलनपछि शुभारम्भ गरिएको यस कार्यक्रममा माझीटार माध्यमिक पाठशाला र सिङ्ताम उच्चत्तर माध्यमिक पाठशालाका विद्यार्थीहरुले रामायण पाठ पठन गरे अनि महेश दाहाल र विकास भट्टराईले कविता वाचन गरे। कार्यक्रमको अवसरमा सिङ्ताम मन्दिर लाइन निवासी रत्नाकुमारी प्रधान (लेप्चा), लाल बजार निवासी पार्वती प्रधान, श्रीमती नौमती राई (सुब्बा), टीका माया प्रधान, धमला क्लोनी निवासी तुलसी देवी पाण्डे अनि जुब्ली लाइन निवासी छिरिङ डोमा भोटियालाई वरिष्ठ नागरिक सम्मानद्वारा सम्मानित गरियो। यसरी नै कक्षा दशौंको परीक्षामा नेपाली भाषामा शीर्ष अङ्क ल्याउने सुमिन लिङ्चे माध्यामिक विद्यालयकी छात्रा स्मृति गुरुङ (७६%), बरदाङ माध्यमिक विद्यालयका छात्र हेम कुमार कामी (८२%), सिरवानी माध्यमिक विद्यालयकी छात्रा कृष्टिना लिम्बू (७६%), सिङ्ताम उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा सुरेखा लिम्बू (९६%) अनि इष्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा रीतवासा सरकार (८७%) अनि कक्षा बाह्रौंको परीक्षामा शीर्ष अङ्क ल्याएर उत्तीर्ण मेधावी विद्यार्थीहरु क्रमैले सिङ्ताम उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा बिनिता कोइराला (९६%) र इष्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा मेरिङ लिम्बू (९१%) – लाई स्व. गंगा कप्तानको स्मृतिमा उनको परिवारद्वारा प्रायोजित स्मृति चिन्ह प्रदान गरि सम्वर्द्धना जनाइयो। उक्त कार्यक्रममा आकर्षक रङ्गारङ्ग नृत्यहरु पनि प्रदर्शित गरेर कार्यक्रमलाई अझ गहकिलो बनाइएको थियो। मुख्य अतिथि रोहित राज महाराजले आफ्नो सम्बोधनमा महाऋषि बाल्मिकी र माता सीता नेपालका भएकोले अनि श्रीराम भारतको भएकोले भानु जयन्ती नेपाली जातिले मात्र नभएर भारतवासी सबै जात-जातिले मनाउनु पर्छ भन्ने बताए। संस्कृत रामायणलाई सरल नेपली भाषामा अनुवाद गर्नुहुने आदिकवि भानुभक्त आचार्यलाई म सलाम गर्छु भन्दै उनले संस्कार र संस्कृति बोकेर हिँड़्ने व्यक्ति सधै महान हुन्छन् भनी बताए। उनले संस्कृत अक्षरहरुको पछाड़ि अंग्रेजी शब्द केही पनि होइन भन्ने बताउँदै जर्मनीमा पनि संस्कृत विश्वविद्यालय पढ़ाइरहेको जानकारी गराए। उनले सिङ्ताम भानु पार्क परिसरमा शौचालय निर्माणको निम्ति आर्थिक सहयोगको घोषणा गरे भने नयाँ भानु सालीग परिसरमा ट्रस लगाउनु पर्ने आवश्यकता परेको बताएपछि स्थानीय रघुबीर अग्रवालले सो ट्रस लगाइदिने घोषणा गरे। मुख्य अतिथि रोहित राज महाराजले मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको नेतृत्वमा फेरि सरकार गठन भएपछि अर्को साल सिङ्ताम भानु उद्यानमा अझ भव्यरुपमा भानु जयन्ती मनाउनु पर्छ भनी बताए।
उक्त कार्यक्रममा अंशग्रहण गर्ने सहभागीहरु अनि मुख्य अतिथि एंव विशिष्ट अतिथिहरुलाई आयोजक समितिले स्मृति चिन्ह प्रदान गरिएको थियो।

About Author

Advertisement