सिक्किम विधानसभामा राष्ट्रपति चुनाउ २०२२ को निम्ति मतदान

IMG_20220718_223402.jpg

गान्तोक: आज सिक्किम विधानसभामा बिहान १० बजीदेखि राष्ट्रपति चुनाउ २०२२ को निम्ति मतदान शुरू भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत सत्ताधारी एसकेएम पार्टीका मन्त्रीगण र विधायकगण, भाजपा र एसडीएफ पार्टीका विधायकहरूले विधानसभामा उपस्थित भएर मतदान गरे। मतदानपछि पत्रकारहरूसॅंग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टी र भाजपाका सबै विधायकहरूले एनडीएको राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मुलाई भोट हालेको जानकारी दिए। उनले राष्ट्रपति पदको निम्ति जनजाति समुदायमा पर्ने महिला उम्मेदवार पाएकोमा खुशी व्यक्त गर्दै यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृह मन्त्री अमित शाहलाई धन्यवाद दिए।
मुख्यमन्त्रीले राष्ट्रपति पदकी उम्मेदवार मुर्मुलाई बधाई दिॅंदै उनको जीत निश्चित रहेको र यो चुनाउ एउटा औपचारिकता मात्र रहेको बताए। प्रश्नहरूको जवाफ दिॅंदै चुनाउको व्यस्तता र मनसून सृजित समस्याहरूका कारण द्रौपदी मुर्मु सिक्किम आउन नसकेको उनले स्पष्ट पारे। उनी राष्ट्रपति निर्वाचित भएपछि सिक्किम आउने आश्वासन दिएको मुख्यमन्त्रीले जानकारी गराए। सिक्किमको विकासको लागि भारत सरकारको तर्फबाट पूर्ण रूपमा समर्थन प्राप्त भइरहेको पनि उनले बताए।
भाजपा विधायक राजकुमारी थापाले एनडीए उम्मेदवार द्रौपदी मुर्मुलाई भोट गरेको बताइन्। उनले मुर्मु एक दक्ष र अनुभवी महिला रहेको बताउॅंदै उनलाई भोट हाल्न पाउनु आफ्नो पनि सौभाग्य रहेको बताइन्। उनले द्रौपदी मुर्मुसॅंग भेट भएको र कुनै प्रकार भेदभाव नराखि सिक्किमको निम्ति पनि समान रूपले गर्ने आश्वासन दिएको जानकारी गराइन्। एक प्रश्नको जवाफमा विधायक थापाले द्रौपदी मुर्मुको जीत निश्चित रहेको दाबी गरिन्।

About Author

Advertisement