गान्तोक: सिक्किम राज्य सहकारी संघ (सिकुन) का अध्यक्ष तथा उत्तरपूर्वी राज्य सहकारी संघहरूको मञ्च (एनईएससीयूएफ) का प्रमुख संयोजक डा. मंगलजित राईले आफ्नो प्रतिनिधिमण्डलसहित मिजोरम राज्य सहकारी संघको आइजोलस्थित कार्यालयको भ्रमण गरेका छन्। ‘सहकारी संवाद’ अन्तर्गत हिजो भएको उक्त भ्रमणका क्रममा प्रतिनिधिमण्डललाई मिजोरम राज्य सहकारी संघका अध्यक्ष के. लालचमरेइया, उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पु रुआतफेला लगायतका पदाधिकारीहरूले हार्दिक स्वागत गरेका थिए। सिकुनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमण र छलफलका बारेमा आधिकारिक जानकारी दिएको हो।
सभालाई सम्बोधन गर्दै डा. मंगलजित राईले ‘सहकारी संवाद’ को यस यात्राले उत्तरपूर्वी राज्यहरू सहकार्य, संवाद र सामूहिक प्रयासमार्फत एकजुट भएमा कुनै पनि चुनौती असम्भव नरहने स्पष्ट सन्देश दिएको बताए। एनईएससीयूएफ उत्तरपूर्वका सहकारी संस्थाहरूबीच एकताको सशक्त पुलका रूपमा विकसित भइरहेको उल्लेख गर्दै उनले अन्तरराज्यीय अध्ययन आदानप्रदान कार्यक्रम, संयुक्त तालिम, क्षमता अभिवृद्धि, डिजिटल सहकारी विकास, बजार सम्बन्ध विस्तार, युवा सहभागिता तथा महिला सशक्तीकरण कार्यक्रमहरूलाई अझ मजबुत बनाउन आह्वान गरे। डा. राईले उत्तरपूर्व भारतमा सहकारी आन्दोलनको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै यसको सफलता एकता, पारदर्शिता, नवप्रवर्तन तथा सामूहिक कार्यशैलीमा निर्भर रहने धारणा राखे। उनले सिक्किम राज्य सहकारी संघद्वारा सहकारी शिक्षा, जनचेतना, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत सिक्किममा सहकारी आन्दोलन सुदृढ गर्न गरिएका गतिविधिहरूबारे पनि प्रकाश पारे।
त्यस क्रममा डा. राईले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा राज्य सरकारद्वारा सहकारी आन्दोलन सुदृढ गर्न चालिएका पहलहरूको विशेष चर्चा गरे। उनले दुग्ध उत्पादक किसानहरूका लागि दूधको मूल्यमा प्रोत्साहन, उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कार तथा ग्रामीण जीविकोपार्जन सुधार र सहकारी सशक्तीकरणका लागि विभिन्न सहयोगात्मक योजनाहरू सञ्चालन भइरहेको जानकारी दिए।










