गान्ताेक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागका विशेष कार्य अधिकारी (ओएसडी) एवं सीड सेलका महासचिव दीपेन सुब्बाले कोलकातास्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलकत्ता इनोभेसन पार्क (आईआईएम-सीआईपी) को परिसरमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।
एक प्रेस विज्ञप्ति अनुसार, आईआईएम-सीआईपीको तर्फबाट यस समझदारी पत्रमा संस्थाका मुख्य कार्यकारी अधिकृत (सीईओ) डा. विवेक कुमार राईले हस्ताक्षर गर्नुभएको हो।
यस सहकार्य अन्तर्गत, वाणिज्य तथा उद्योग विभाग, सिक्किम सरकार र सीड सेलको संयुक्त तत्वावधानमा आयोजना भइरहेको एउटा प्रमुख उद्यमशीलता र स्टार्टअप-आइडियाथन पहल— ‘सिक्किम राइज’ का निम्ति आईआईएम-सीआईपीले ज्ञान र संस्थागत साझेदारको रूपमा कार्य गर्नेछ।

विज्ञप्तिमा जनाइए अनुसार, यस साझेदारीको मुख्य उद्देश्य सिक्किम राइजमा सहभागी बन्ने महत्वाकांक्षी उद्यमी र नवप्रवर्तनकारी कार्यहरूलाई परामर्श, नयाँ खोज सहायता, क्षमता अभिवृद्धि, संस्थागत आबद्धता र विशेषज्ञ मार्गदर्शन प्रदान गरेर सिक्किमको नवोदित व्यवसाय (स्टार्टअप) को वातावरणलाई अझ मजबुत बनाउनु रहेको छ।










