सोरेङ। सोरेङ जिल्लाको रिञ्चेनपोङ समष्टिअन्तर्गत ३४ वटा दूध उत्पादक सहकारी समितिका कृषकहरुलाई आज सरकारद्वारा प्रदान गरिने प्रतिलिटर ८ रुपियाँको दरले प्रोत्साहन राशि क्षेत्र प्रभारी फूर्बा छिरिङ भोटियाको बाहुलीबाट वितरण गरियो। रिञ्चेनपोङ समष्टिको साङ्गादोर्जीस्थित सामुदायिक भवनमा सिक्किम मिल्क युनियन र पशुपालन एवं चिकित्सक सेवा विभागको संयुक्त तत्वावधानमा उक्त कार्यक्रम आयोजित भएको हो।
कार्यक्रममा कृषकहरुलाई दिसम्बर २०२१ देखि मार्च २०२२-सम्म चार महिनाको प्रोत्साहन राशि मोठ ३९ लाख ७७ हजार ४ सय ७२ रुपियाँ वितरण गरियो। रिञ्चेनपोङ समष्टिबाट वित्तीय वर्ष २०२१-२२ मा सर्वाधिक दूध उत्पादन गर्ने कृषक टेकबहादुर गुरुङ बने। कृषक गुरुङ बड़ा सामदुङ दूध उत्पादन सहकारी समितिका सदस्य हुन्।
यसरी नै सम्बन्धित रिञ्चेनपोङ समष्टिअन्तर्गत ३४ वटा दूध उत्पादन सहकारी समितिमध्ये प्रोत्साहन राशि ज्यादा प्राप्त गर्ने श्रीबदाम दूध उत्पादक सहकारी समिति बनेको छ। श्रीबदामले मोठ प्रोत्साहन राशि ५ लाख ४० हजार १६० प्राप्त गरेर प्रथम बनेको हो। दोस्रो स्थान प्राप्त गर्ने देथाङ दूध उत्पादक सहकारी समितिले ३ लाख ७१ हजार २८० रुपियाँ र तेस्रो बन्ने बड़ा सामदुङले ३ लाख ५० हजार ५२० रुपियाँ प्रोत्साहन राशि प्राप्त गर्न सफल बनेको छ।
कार्यक्रममा मुख्य अथितिको रूपमा उपस्थित क्षेत्र प्रभारी फर्बा छिरिङ भोटियाले सम्बोधन गर्ने क्रममा कृषकहरुलाई पशुपालनमाथि अभिप्रेरित गर्दै कृषकहरुले पशुपालनलाई उद्योगको रूपमा परिणत गर्नसके राम्रो आयस्रोतको माध्यम बन्नेसक्ने बताए। प्रभारी भोटियाले रिञ्चेनपोङ समष्टि दूध उत्पादनको क्षेत्रमा राज्यमा दोस्रो बन्न सफल बनेकोमा कृषकहरुलाई बधाई दिँदै सरकारले दूध उत्पादक कृषकको हितमा प्रोत्साहन राशि प्रदान गरेर विश्वमा नै नमूना बनेको बताए।









